काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आतङ्कवाद तथा बहुराष्ट्रिय अपराध नियन्त्रणका लागि क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

भारतमा मंगलबार आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले सुरक्षित सूचना आदानप्रदान, सङ्गठित प्रयास र सदस्य राष्ट्रबीचको समन्वयमार्फत साझा सुरक्षा चुनौतीको सामना गर्नुपर्ने बताएका हुन्।

गुरुङले यसअघि भएका प्रतिबद्धता समयमै कार्यान्वयन गर्नुपर्ने आवश्यकता पनि औँल्याए।

क्षेत्रीय विपद् प्रतिकार्य क्षमता सुदृढ बनाउने उद्देश्यले उनले संयुक्त कार्यदलमार्फत सञ्चालन हुने गरी ‘विपद् पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बिमस्टेक क्षेत्रीय संरचना’ स्थापना गर्न प्रस्ताव गरेका छन्। भारतस्थित नेपाली दूतावासले गृहमन्त्री गुरुङले बैठकमा उक्त प्रस्ताव राखेको जनाएको छ।

सम्बोधनका क्रममा उनले हालैका प्राकृतिक विपद्का समयमा नेपालप्रति ऐक्यबद्धता जनाउँदै सहयोग पुर्‍याएका बिमस्टेक सदस्य राष्ट्रहरूलाई धन्यवादसमेत दिए।

पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ सोमबार भारत पुगेका थिए। उनको मंगलबार नै भारतीय गृहमन्त्री अमित शाहसहित उच्चपदस्थ अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। साथै, उनले बिमस्टेक सदस्य राष्ट्रका अन्य गृहमन्त्रीहरूसँग पनि भेट गर्ने बताइएको छ।

गृहमन्त्री गुरुङ बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com