काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीमाथि आक्रमण गर्ने विपक्षी दलका नेता तथा कार्यकर्ताको प्रतिवाद गर्न आफू सधैँ तयार रहेको बताएका छन्।
उनले आफू पार्टीको कुनै पदमा रहे पनि नरहे पनि कांग्रेसमाथि धावा बोल्नेहरूलाई तत्काल जवाफ दिने चेतावनी दिए।
‘विपक्षी पार्टीका नेता–कार्यकर्ताले नेपाली कांग्रेसमाथि धावा बोल्यो भने ठाउँको ठाउँ ठेगान लगाउने मान्छे म हुँ। पदमा हुँदा पनि, नहुँदा पनि कांग्रेसमाथि धावा बोल्नेलाई प्रतिवाद गर्ने मान्छे मै हुँ,’ बस्नेतले भने।
उनले कांग्रेसका नेता तथा कार्यकर्तालाई आफूले सधैँ साथ र सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। राजनीतिमा जनताको भूमिकालाई महत्त्वपूर्ण बताउँदै उनले जनताको संरक्षण र सेवामा नेता–कार्यकर्ता निरन्तर सक्रिय हुनुपर्नेमा जोड दिए।
‘जनता भए मात्रै राजनीति हुने हो। जनता भए मात्रै देश हुने हो। जनता भए मात्रै सबै चिज हुने हो,’ उनले भने।
प्राकृतिक विपद्को जोखिममा रहेको जिल्लामा भूकम्प, बाढीपहिरो, कोभिड महामारी तथा आगलागीजस्ता संकटका बेला आफूहरू जनताको सेवामा खटिएको उनले दाबी गरे।
उनका अनुसार बाटोघाटोको अभावमा सुत्केरी हुन नसक्ने महिलालाई हेलिकप्टरमार्फत उद्धार गर्ने, निःशुल्क शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध गराउने र अप्ठ्यारो परिस्थितिमा खाद्यान्नको व्यवस्था गर्नेजस्ता काममा कांग्रेसका नेता–कार्यकर्ता सक्रिय रहँदै आएका छन्।
संकटका बेला जनताको साथमा उभिन नसक्ने व्यक्ति नेता हुन नसक्ने बस्नेतको भनाइ थियो।
‘अप्ठ्यारो पर्दा जनताको साथमा उभिन नसक्ने नेता लायक होइन, त्यो नेतै होइन। त्यो क्षमता, हुति र बुद्धि हामीसँग छ,’ उनले भने।
जनतालाई संकटका बेला सहयोग गर्नु नै नेताको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै बस्नेतले कांग्रेसका नेता तथा कार्यकर्तालाई सधैँ जनताको पक्षमा उभिन आग्रह गरे।
प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार












प्रतिक्रिया