काठमाडौं । दसैँ, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा ३ हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ। चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार परिचालित प्रहरीमध्ये १०० जना सादा पोसाकमा खटिएका छन्। उनीहरूले सार्वजनिकस्थल, बजार तथा भीडभाड हुने क्षेत्रमा निगरानी गरी शङ्कास्पद गतिविधि पहिचान र नियन्त्रणमा सहयोग गर्नेछन्।
सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन प्रहरीले नियमित गस्तीका साथै ड्रोन क्यामेरा, सामाजिक सञ्जाल, सामुदायिक सेवा केन्द्र र तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको छ। बसपार्क, बजार, वित्तीय संस्था, सरकारी कार्यालय तथा सर्वसाधारणको बढी आवतजावत हुने क्षेत्रमा विशेष निगरानी बढाइएको परिसरले जनाएको छ।
चाडपर्वका बेला किनमेल, यात्रु आवागमन र आर्थिक कारोबार बढ्ने भएकाले चोरी, पाकेटमारी तथा ठगीजस्ता घटनाको जोखिमलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
प्रहरीले उपत्यकाका १४ वटा सेक्टरलाई लक्षित गरी सुरक्षा योजना लागू गरेको छ। सम्बन्धित प्रहरी वृत्तका प्रमुखले आ–आफ्नो क्षेत्रको सुरक्षा व्यवस्थाको निगरानी गर्नेछन् भने जिल्ला प्रहरी परिसरले समग्र योजनाको अनुगमन गर्नेछ। परिसर प्रमुख र वरिष्ठ प्रहरी अधिकृतसमेत सुरक्षा योजना कार्यान्वयनमा संलग्न रहनेछन्।
चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले नियमित गस्ती, शङ्कास्पद गतिविधिको निगरानी तथा आवश्यकताअनुसार तत्काल प्रहरी परिचालन गर्ने व्यवस्था मिलाएको छ। साथै, आफ्नो घर तथा सम्पत्तिको सुरक्षामा ध्यान दिन र कुनै शङ्कास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरिएको छ।
प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार












प्रतिक्रिया