काठमाडौं । भारतले लद्दाखका २८ स्थानको नाम परिवर्तन गरी आधिकारिक नक्सामा समावेश गरेपछि चीनले आपत्ति जनाएको छ। चीनले भारतको कदमले विवादित भूभागमाथिको दाबी परिवर्तन नहुने स्पष्ट पारेको छ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले मंगलबार भारतको निर्णयलाई गैरकानुनी र अमान्य बताइन्। उनका अनुसार चीन–भारत सीमाको पश्चिमी क्षेत्रका सम्बन्धित भूभाग चीनकै भएको दाबी गर्दै भारतको नामकरणले त्यसमा कुनै परिवर्तन नल्याउने बताइन्।
भारतले भने लद्दाख आफ्नो अभिन्न भूभाग भएको दोहोर्याएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले लद्दाख प्रशासन र स्थानीय बासिन्दासँग परामर्श गरेर २८ स्थानको नाम तय गरिएको बताएका छन्। ती स्थानको सही पहिचान कायम गर्न आधिकारिक नक्सामा नाम समावेश गरिएको उनको भनाइ छ।
भारतले अक्टोबर २ मा सार्वजनिक गरेको नामावलीमा गोगरा र हट स्प्रिङ्सजस्ता संवेदनशील क्षेत्र पनि समेटिएका छन्। यी क्षेत्रमा सन् २०२० मा भारतीय र चिनियाँ सेनाबीच तनाव बढेको थियो।
सोही वर्ष जुनमा गलवान उपत्यकामा दुई देशका सेनाबीच हिंसात्मक झडप भएको थियो। उक्त घटनामा भारतका २० सैनिकको मृत्यु भएको थियो। चीनले सन् २०२१ मा आफ्ना चार सैनिकको मृत्यु भएको स्वीकार गरेको थियो।
प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार












प्रतिक्रिया