काठमाडौं । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा दोषी ठहर भई सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका मेघबहादुर थापा उर्फ ‘बाबु थापा’ सर्लाहीबाट पक्राउ परेका छन्। प्रहरीका अनुसार उनी स्वचालित हतियारसहित पक्राउ परेका हुन्।

गत वर्ष २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) बाट फरार भएका थापालाई सर्लाहीको बागमती नगरपालिका–२ स्थित मिलनचोकमा रहेको आफ्नै निवासबाट नियन्त्रणमा लिइएको हो।

सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रनाथ पौडेलका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार राति थापाको घरमा छापा मारेर उनलाई पक्राउ गरेको हो। पक्राउका क्रममा उनको साथबाट दुई थान स्वचालित पेस्तोल, तीनवटा म्यागजिन र १५ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कारागारबाट फरार भएपछि थापा भेष बदलेर र अरूका मोबाइल फोन प्रयोग गरी नेपाल तथा भारतका विभिन्न स्थानमा लुक्दै आएका थिए। उनी आफ्नै घरमा आएको सूचना पाएपछि प्रहरीले घेराबन्दी गरेर नियन्त्रणमा लिएको जनाइएको छ।

बरामद हतियार र गोलीका सम्बन्धमा थापाविरुद्ध मुलुकी अपराध संहिताअनुसार छुट्टै मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। हतियारसम्बन्धी कसुरमा अनुसन्धान पूरा भएपछि उनलाई बाँकी कैद भुक्तानका लागि पुनः कारागार पठाइने प्रहरीको भनाइ छ।

चुरेभावर राष्ट्रिय पार्टीका तत्कालीन उपाध्यक्ष रहेका थापा न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा मुख्य योजनाकारका रूपमा दोषी ठहर भएका थिए। २०६९ साल जेठ १८ गते ललितपुरको कुपण्डोलस्थित युएन पार्क नजिकै बममाथि गोली प्रहार गरी हत्या गरिएको थियो। उनी बंगलामुखी मन्दिरबाट फर्कँदै गर्दा आक्रमणमा परेका थिए।

उक्त घटनाको अनुसन्धानपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थापालाई २०७१ साल पुसमा पक्राउ गरेको थियो। अदालतबाट दोषी ठहर भएपछि उनी जन्मकैदको सजाय भोगिरहेका थिए। गत वर्ष भदौ २४ गते कारागारबाट फरार भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो।

प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This