काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले संसद् कानुन निर्माणमा अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको बताएकी छन्।
वर्षे अधिवेशनमा आफ्नो भूमिका समेटिएको ‘खुला किताब’ नामक प्रतिवेदन सार्वजनिक गर्दै उनले संसद् र सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको तथा सत्ता पक्ष र प्रतिपक्ष राजनीतिक आरोप–प्रत्यारोपमा बढी केन्द्रित भएको टिप्पणी गरिन्।
जनताले ठूलो मतादेश दिएर पठाएपछि संसद्को प्रमुख जिम्मेवारी कानुन निर्माण हुनुपर्ने भए पनि आवश्यक विधायी बहस पर्याप्त हुन नसकेको उनको भनाइ छ।
बहुमतको सरकारका कारण प्रतिपक्षको भूमिका केही कमजोर देखिए पनि जनताका मुद्दा उठाउने र सरकारलाई खबरदारी गर्ने काम निरन्तर गरेको उनले बताइन्।
ओलीले संसद्मा उठाएका विषय र सञ्चारमाध्यमको सहयोगबाट जनजीवनसँग जोडिएका केही मुद्दा सम्बोधन गर्न सकिएको उल्लेख गरिन्। उनका अनुसार इन्टर्न चिकित्सकका समस्या, पेट्रोलियम पदार्थमा कर घटाउने विषय, नेपाल टेलिभिजनमा प्रसारित विवादित कार्टुन हटाउने पहल तथा मानव तस्करीमा परेका व्यक्तिलाई स्वदेश फर्काउने विषयमा उनले आवाज उठाएकी थिइन्।
संसद्मा मुद्दा उठाउनुका साथै मन्त्री र सचिवहरूसँग समन्वय गरेर पनि कतिपय समस्या समाधानका लागि पहल गरेको उनले जानकारी दिइन्।
सञ्चारमाध्यमले जनसरोकारका विषयलाई प्राथमिकताका साथ उठाउँदा तिनको सम्बोधनमा महत्त्वपूर्ण भूमिका खेल्ने अनुभव आफूले गरेको ओलीले बताइन्।
प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार















प्रतिक्रिया