काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक तथा प्रशासनिक अवस्था अन्योल र अलमलमा रहेको टिप्पणी गरेका छन्।
बडादसैँ २०८३ को शुभकामना सन्देश जारी गर्दै उनले देशको वर्तमान अवस्थाबारे प्रश्न उठाएका हुन्। निर्मल निवासस्थित संवाद सचिवालयमार्फत सार्वजनिक सन्देशमा उनले राज्य प्रणालीलाई सही दिशामा अघि बढाउने, प्रजातान्त्रिक आधार बलियो बनाउने र अर्थतन्त्र उकास्ने विषयमा गम्भीर हुनुपर्ने बताएका छन्।
“यतिखेर हाम्रो देश किन अस्तव्यस्त स्थितिमा रहेको छ । हाम्रो राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक, प्रशासनिक एवं व्यवसायिक क्षेत्र अन्योल र अलमलको अवस्थामा किन देखिन्छ,” उनले सन्देशमा भनेका छन्।
पूर्वराजा शाहले प्रजातान्त्रिक विधि र प्रक्रियालाई सुदृढ बनाउँदै राष्ट्रियता तथा मौलिक मूल्यलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। राज्य सञ्चालनमा आएको नयाँ पुस्ताले देशवासीको मुहारमा खुसी ल्याउने अपेक्षा पनि उनले व्यक्त गरेका छन्।
दसैँको शुभकामना दिँदै उनले भदौमा भोटेकोशीमा आएको बाढी तथा असोजको अविरल वर्षा र बुढीगण्डकीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी र सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।
क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र पीडित नागरिकको शीघ्र पुनःस्थापनालाई प्राथमिकतामा राख्न आग्रह गर्दै उनले बाह्य सहयोग लिँदा देशको स्वाभिमान र स्थानीय परम्परा जोगाउन कूटनीतिक चातुर्य अपनाउनुपर्ने बताएका छन्।
“नेपाल केवल भूगोल मात्र होइन, यो हाम्रो साझा इतिहास, आस्था, संस्कृति, परम्परा अनि चिनारी पनि हो,” उनले सन्देशमा उल्लेख गरेका छन्।
उनले राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्न र देशको कठिन अवस्थामा एकअर्कालाई साथ दिन आग्रह गरेका छन्। विभाजित नभई एकताबद्ध, परनिर्भर नभई आत्मनिर्भर तथा कमजोर नभई सबल र सक्षम नेपाल निर्माण गर्ने सोच सबैमा जागृत हुनुपर्ने उनको सन्देश छ।
पूर्वराजा शाहको दसैँ शुभकामना सन्देशको पूर्णपाठ :
प्यारा नेपाली दिदीबहिनी तथा दाजुभाइहरू,
सदा झैँ यस वर्ष पनि नेपालको सनातनी परम्परा र संस्कृतिअनुरूप सत्य, सदाचार तथा मर्यादाका निम्ति मनाइने बडादसैँ हामी नेपालीको घरआँगनमा आइपुगेको छ।
विभिन्न आरोहअवरोहहरू देख्दै, भोग्दै, सहँदै अनि सम्हालिँदै आएका हामी नेपालीहरू प्राकृतिक प्रकोपको दुःख र पीडाकै बीचमा पनि आफ्ना चाडपर्व, धर्म, संस्कृति तथा रीतिरिवाज धान्नुपर्ने अवस्थामा उभिएका छौँ।
यो वर्षको वर्षाद्काल पनि हाम्रा निम्ति सुखद रहेन। भदौ १० गते भोटेकोशीमा पसेको भीषण बाढीले विभिन्न जिल्लाका नदीतटीय क्षेत्रमा र यही असोजमा परेको अविरल वर्षा तथा दसैँको मुखैमा आएको बुढीगण्डकी बाढीका कारण जनधनको अपार क्षति हामीले भोग्नुपर्यो।
प्रकृतिका नियमहरू न्यायसंगत छन् तर भयानक पनि। त्यहाँ कुनै कमजोरी, करुणा हुँदैन। कारण र परिणामहरू अलग गर्न सकिँदैन र अनिवार्य छन्। प्रकृति आफैँमा एक नियमित र नियामक शक्ति हो, यसको गति स्वाभाविक हुन्छ।
त्यही तात्त्विक र तार्किक सत्यलाई स्वीकार गरेर हामीले प्रकृति नबिथोलिने गरी सन्तुलन र संरक्षणको नीति अवलम्बन गर्नुपर्दछ। यसबाट आउने दुःख, बाधा र पीडालाई न्यूनीकरण गर्न हामी सबैले पूर्वतयारी र सावधानीका साथ सही शक्ति र सद्बुद्धिको प्रयोग गर्न सक्नुपर्दछ।
शोकलाई शक्तिमा र निराशालाई आशामा बदल्दै जीवनको यात्रा तय गर्नुपर्ने हाम्रो बाध्यता रहेको तथ्य सर्वविदित नै छ। जनताको पीडा नै सिङ्गो देश र राज्यको पनि साझा पीडा हो भन्ने मान्यताको जगमा उभिएको हाम्रो भूमिका आगामी दिनहरूमा पनि नेपाल र नेपालीको पक्षमा नै रहिरहनेछ।
क्षतिग्रस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माण तथा पीडित नागरिकहरूको शीघ्रातिशीघ्र यथोचित पुनःस्थापनाको कार्यलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्नुपर्ने अहिलेको आवश्यकता हो। तर यस किसिमको कार्यमा बाह्य सहयोग लिँदा देशको स्वाभिमान, स्थानीय परम्परा जोगिने गरी कूटनीतिक चातुर्य अपनाउनुपर्ने हुन्छ।
नेपाल केवल भूगोल मात्र होइन, यो हाम्रो साझा इतिहास, आस्था, संस्कृति, परम्परा अनि चिनारी पनि हो। देशको कठिन समयमा एकअर्कामा भाइचारा कायम राख्नु, एक क्षेत्रका नागरिकको पीडामा अर्को क्षेत्रका नागरिकले साथ दिनु र राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नु नै साँचो देशभक्ति हुन्छ।
यतिखेर हाम्रो देश किन अस्तव्यस्त स्थितिमा रहेको छ। हाम्रो राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक, प्रशासनिक एवं व्यावसायिक क्षेत्र अन्योल र अलमलको अवस्थामा किन देखिन्छ।
हाम्रो राज्य प्रणालीलाई कसरी लाने, हाम्रा प्रजातान्त्रिक आधारलाई कसरी बलियो पार्ने, हाम्रो अर्थतन्त्रलाई के गरेर उकास्ने भन्ने सवाल यतिबेला किन उत्पन्न भएको छ।
यी सबैलाई सच्याएर, मिलाएर, प्रजातान्त्रिक विधि प्रक्रियालाई सुदृढ पार्दै विद्यमान विश्व परिवेश र भूराजनीतिको स्थितिमा हाम्रो राष्ट्रियता तथा मौलिक मूल्यलाई दृढ पार्नु जरुरी छ। जोशजाँगर बोकेर राज्य सञ्चालनमा खडा भएको नवपुस्ताले देशवासीको मुहार हँसिलो रसिलो पार्छ भन्ने अभिलाषा राखिएको छ।
नेपालीको मनमा करुणा, समाजमा सद्भाव र देशभक्तिको भावना अझ बलियो बन्दै जाओस्। विभाजित होइन, एकताबद्ध नेपाल, परनिर्भर होइन आत्मनिर्भर नेपाल, कमजोर होइन सबल र सक्षम नेपाल निर्माण गर्ने सोच हामी सबैमा जागृत होस्।
असत्यमाथि सत्यको अनि आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको उल्लासका रूपमा मनाइने दसैँका अवसरमा शक्तिकी प्रतीक श्री नवदुर्गा भवानीले हामीलाई सत्य, न्याय र शक्तिको मार्गमा हिँड्ने सद्बुद्धि प्रदान गरून्।
जय नेपाल !
संवाद सचिवालय
निर्मल निवास
प्रकाशित मिति: ३० आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया