काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको कार्यशैली र संगठन सञ्चालनको परम्परागत तरिका परिवर्तन गर्ने घोषणा गरेका छन्। उनले आफू पार्टीका नियमित प्रशासनिक तथा दैनिक कामबाट अलग रहेर देशभरका नागरिकसँग प्रत्यक्ष संवादमा जुट्ने योजना पनि सार्वजनिक गरेका छन्।
शुक्रबार काठमाडौँमा आयोजित नेपाल पेसाकर्मी अभियान परिषद्को कार्यक्रममा बोल्दै थापाले विगतका राजनीतिक मुद्दाले मात्रै वर्तमान नेपाली समाजका आवश्यकता र आकाङ्क्षा सम्बोधन गर्न नसक्ने बताए। बीपी कोइराला र गणेशमान सिंहको समयका मुद्दालाई आजको समाजको प्रतिनिधित्व गर्ने एकमात्र आधार बनाउन नहुने उनको भनाइ थियो।
अबको कांग्रेसले समसामयिक चुनौती र नागरिकका प्रश्नको समाधान खोज्नुपर्नेमा जोड दिँदै उनले पार्टीलाई समयअनुकूल रूपान्तरण गर्नुपर्ने बताए।
थापाले आजको समाजका समस्या र सम्भावनालाई समेट्ने ‘समुन्नति’ को अवधारणा अघि सारे। सामाजिक सञ्जालका रिल्समा मात्र केन्द्रित भएर समाजका समस्या समाधान नहुने उल्लेख गर्दै उनले गम्भीर छलफल, बहस र चिन्तनको आवश्यकता औँल्याए।
पर्यावरण संरक्षण, आर्थिक विकास, सुशासन र प्रजातान्त्रिक अधिकारलाई सँगसँगै अघि बढाउनु नै समुन्नतिको लक्ष्य हुनुपर्ने उनको भनाइ थियो। नागरिकका आकाङ्क्षा पूरा गर्न सक्ने राजनीतिक शक्तिका रूपमा कांग्रेसलाई स्थापित गर्नु आफ्नो प्रमुख उद्देश्य रहेको उनले स्पष्ट पारे।
सभापति थापाले आफू पार्टीको नियमित कामबाट अलग रहने र वरिष्ठ उपसभापति तथा महामन्त्रीहरूलाई पार्टीको दैनिक कार्यसञ्चालनको जिम्मेवारी दिने योजना सुनाए। आफू भने देशभर पुगेर नेता, कार्यकर्ता र सर्वसाधारणका कुरा सुन्ने तथा उनीहरूका अपेक्षा र समस्याबारे बुझ्ने अभियानमा केन्द्रित हुने उनले बताए।
पार्टीका सदस्यको व्यक्तिगत जीवन, आचरण र आर्थिक पारदर्शिताको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने उनको भनाइ थियो। कुनै व्यक्तिको निजी गतिविधि वा कमजोरीका लागि सिङ्गो पार्टीलाई जिम्मेवार बनाउन नहुने तर्क गर्दै उनले सञ्चारमाध्यमलाई पनि व्यक्तिको गल्तीका आधारमा पूरै पार्टीलाई दोषी नठहराउन आग्रह गरे।
यसैगरी थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएका वा जिम्मेवारीमा समेटिन नसकेका योग्य नेता तथा कार्यकर्तालाई पनि साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाए। आन्तरिक निर्वाचनको हारजितलाई नेतृत्वको अन्तिम मूल्याङ्कनका रूपमा लिन नहुने उल्लेख गर्दै उनले सबैलाई समेटेर सामूहिक नेतृत्व र सहकार्यको संस्कार विकास गर्नुपर्ने बताए।
पार्टीभित्रको एकतालाई प्राथमिकतामा राख्दै गुटगत प्रभावभन्दा माथि उठेर कांग्रेसलाई अघि बढाउने उनको भनाइ थियो।
प्रकाशित मिति: ३० आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया