काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रका दक्ष जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले विभिन्न सूचना प्रणालीको विकास, स्तरोन्नति, परिमार्जन तथा मर्मतसम्भारका लागि नौ प्रकारका पदमा कर्मचारी माग गरेको हो।
केन्द्रले सार्वजनिक गरेको सूचनाअनुसार प्रमुख प्रविधि विज्ञ पदका लागि मासिक २ लाख ५० हजार रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ। त्यस्तै, प्रोजेक्ट म्यानेजर र विभिन्न क्षेत्रका सेक्टर प्रमुखका लागि मासिक २ लाख रुपैयाँ तलब प्रस्ताव गरिएको छ।
कुन पदमा कति कर्मचारी माग गरियो?
विज्ञापनअनुसार प्रमुख प्रविधि विज्ञ एक जना, प्रोजेक्ट म्यानेजर दुई जना, सेक्टर प्रमुख (प्रोजेक्ट तथा बिजनेस एनालिसिस) एक जना, सेक्टर प्रमुख (सफ्टवेयर इन्जिनियरिङ) एक जना, सेक्टर प्रमुख (क्वालिटी एनालिसिस) एक जना तथा सेक्टर प्रमुख (इन्फ्रास्ट्रक्चर तथा अपरेसन्स) एक जना माग गरिएको छ।
यी पदका लागि मासिक २ लाखदेखि २ लाख ५० हजार रुपैयाँसम्म पारिश्रमिक उपलब्ध गराइने उल्लेख छ।
यसैगरी, सिस्टम एनालिस्ट चार जना, सिनियर डेभलपर तीन जना र सिस्टम/नेटवर्क/डाटाबेस एडमिनिस्ट्रेटर दुई जना नियुक्त गर्ने तयारी गरिएको छ। सिस्टम एनालिस्टका लागि मासिक १ लाख ६० हजार, सिनियर डेभलपरका लागि १ लाख ४० हजार र सिस्टम/नेटवर्क/डाटाबेस एडमिनिस्ट्रेटरका लागि १ लाख ५० हजार रुपैयाँ पारिश्रमिक तोकिएको छ।
शैक्षिक योग्यता र प्राविधिक दक्षता अनिवार्य
आवेदन दिन इच्छुक उम्मेदवारले पदअनुसार तोकिएको शैक्षिक योग्यता पूरा गरेको हुनुपर्नेछ। प्रमुख प्रविधि विज्ञ र प्रोजेक्ट म्यानेजरका लागि सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था छ। अन्य पदमा आवेदन दिन कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ।
उम्मेदवारको प्राविधिक ज्ञान र कार्यक्षमताअनुसार पदगत जिम्मेवारी पनि निर्धारण गरिएको छ। प्रमुख प्रविधि विज्ञका लागि प्रविधि रणनीति निर्माण, नेतृत्व, साइबर सुरक्षा, सुशासन र विभिन्न प्रणालीबीच एकीकरण गर्ने क्षमता आवश्यक पर्नेछ।
प्रोजेक्ट म्यानेजरका लागि परियोजना योजना निर्माण, समन्वय, जोखिम व्यवस्थापन, कार्यान्वयन तथा स्रोत परिचालनसम्बन्धी ज्ञान खोजिएको छ। सफ्टवेयर इन्जिनियरिङतर्फका उम्मेदवारमा कोड समीक्षा, एपीआई डिजाइन, सुरक्षित सफ्टवेयर विकास र रिलिज व्यवस्थापनको सीप आवश्यक हुनेछ।
त्यस्तै, क्वालिटी एनालिसिस पदका लागि परीक्षण रणनीति निर्माण, परीक्षण स्वचालन र त्रुटि विश्लेषणमा दक्षता हुनुपर्नेछ। इन्फ्रास्ट्रक्चर तथा अपरेसन्सतर्फ प्रणालीको विश्वसनीयता कायम राख्ने, सञ्चालन व्यवस्थापन, क्षमता योजना र प्राविधिक समस्या समाधान गर्ने क्षमता अपेक्षा गरिएको छ।
सरकारी निकायमा प्रयोग भइरहेका सूचना प्रणालीलाई थप प्रभावकारी, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यले दक्ष प्राविधिक जनशक्ति माग गरिएको केन्द्रले जनाएको छ।
प्रकाशित मिति: ३० आश्विन २०८३, शुक्रबार











प्रतिक्रिया