काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बडादसैँको अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति, आरोग्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
उनले बडादसैँले विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै हरेक घरमा उत्सव र उमङ्ग ल्याओस् भन्ने कामना गर्दै शुभकामना व्यक्त गरेका हुन्।
प्रधानमन्त्री शाहले दसैँ धार्मिक, सामाजिक तथा सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण पर्व भएको उल्लेख गर्दै यसले एकता, आत्मीयता र पारिवारिक मिलनको सन्देश दिने बताएका छन्। ठूलाबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्परा सानालाई माया र ठूलालाई आदर गर्ने नेपाली मौलिक संस्कृतिको प्रतिबिम्ब भएको उनको भनाइ छ।
विभिन्न विषम र सङ्कटपूर्ण परिस्थितिमा पनि नेपालीले आफ्नो धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्यमान्यता र मौलिकताको संरक्षण गर्दै चाडपर्व मनाउँदै आएको उनले स्मरण गरेका छन्।
यस वर्ष रसुवा, नुवाकोट र गोरखालगायतका क्षेत्रमा भएका विनाशकारी घटनाको शोक ताजै रहेका बेला दसैँ आएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले मृतकप्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले तदारुकताका साथ काम गरिरहेको पनि बताएका छन्।
दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा व्याख्या गर्दै उनले प्रत्येक व्यक्तिले आफूभित्रका महिषासुर र रावणलाई चिन्न र तिनमाथि विजय प्राप्त गर्न सक्नुपर्ने बताएका छन्। काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारजस्ता मानव दुःखका प्रमुख कारणमाथि विजय प्राप्त गर्न पनि उनले सबैमा शुभकामना व्यक्त गरेका छन्।
प्रकाशित मिति: १ कार्तिक २०८३, शनिबार












प्रतिक्रिया