काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्टको पक्राउ प्रकरणमा सरकारले दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले संगठित अपराधको अनुसन्धानका लागि दसैँकै दिन भट्टलाई पक्राउ गरिएको घटनालाई रवि लामिछानेको पक्राउ प्रकरणसँग तुलना गरेका हुन्।
उनले यसअघि लामिछानेलाई संगठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा चितवनबाट पोखरा लैजाँदा असंवेदनशील व्यवहार गरिएको भन्दै आलोचना गर्नेहरू भट्ट पक्राउ पर्दा मौन बसेको टिप्पणी गरेका छन्।
‘रवि पक्राउ हुँदा एउटा मापदण्ड, सुशील भट्ट पक्राउ हुँदा अर्को मापदण्ड,’ भन्दै बस्नेतले कानुन कार्यान्वयनमा व्यक्तिअनुसार फरक व्यवहार गरिएको हो कि भन्ने प्रश्न उठाएका छन्।
उनले रवि लामिछाने सभापति रहेको रास्वपाकै नेतृत्वमा सरकार हुँदा भट्टको पक्राउमा यस्तो व्यवहार किन गरिएको भन्दै सरकारसँग जवाफ मागेका छन्।
बस्नेतले कानुन सबै नागरिकका लागि समान हुनुपर्ने उल्लेख गर्दै व्यक्ति हेरेर अनुसन्धान र पक्राउसम्बन्धी मापदण्ड परिवर्तन गर्न नहुने धारणा राखेका छन्।
भट्टको पक्राउलाई लिएर बस्नेतले उठाएको प्रश्नले अनुसन्धानका क्रममा राज्यले अपनाउने व्यवहार र कानुनी समानताको विषयलाई राजनीतिक बहसमा ल्याएको छ।
प्रकाशित मिति: २ कार्तिक २०८३, आइतबार










प्रतिक्रिया