काठमाडौं । आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयप्रति राष्ट्रिय जेनजी नागरिक अभियानले आपत्ति जनाएको छ। अभियानले नियुक्ति तत्काल रद्द गर्न माग गर्दै निर्णय फिर्ता नभए बृहत् नागरिक आन्दोलन गर्ने चेतावनी दिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा सरकारले आनी छोइङ डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो। नियुक्तिलाई लिएर अभियानले कानुनी प्रक्रिया, सुशासन र पारदर्शितासम्बन्धी प्रश्न उठाएको हो।
अभियानका प्रवक्ता अजय सोडारीद्वारा जारी विज्ञप्तिमा आनी छोइङ डोल्मासँग सम्बन्धित नागरिकता र सम्पत्ति शुद्धीकरणका विषयमा अनुसन्धान तथा छानबिन हुनुपर्ने दाबी गरिएको छ। यस्ता विषय निरूपण नभइसकेको अवस्थामा लुम्बिनी विकास कोषजस्तो धार्मिक तथा सांस्कृतिक सम्पदाको व्यवस्थापन गर्ने निकायमा नियुक्ति गर्नु उचित नभएको अभियानको भनाइ छ।
विज्ञप्तिमा २०५७ सालदेखि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान विचाराधीन रहेको र २०६४ सालमा नागरिकता लिने क्रममा नक्कली छोरी बनेको आरोप लागेको उल्लेख छ। उक्त नागरिकतासम्बन्धी विषयमा कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले छानबिन गरिरहेको पनि अभियानले दाबी गरेको छ।
अभियानले कञ्चनबहादुर लामाका छोरा प्रमाणसिंह लामा र स्थानीय बासिन्दाले नागरिकतासम्बन्धी विषयमा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको तथा तत्कालीन प्रहरी परिसर काठमाडौंले २०७६ पुस ४ गते मागेको नागरिकतासम्बन्धी विवरण उपलब्ध नगराइएको दाबीसमेत गरेको छ।
त्यसैगरी, आनी छोइङ डोल्माले आफ्नो पुस्तक ‘फूलको आँखामा’ को छैटौँ पृष्ठमा आफू तिब्बती नागरिक भएको स्वीकार गरेको अभियानको दाबी छ। यी विषयले नियुक्तिको वैधानिकता र सरकारको जवाफदेहितामाथि प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख छ।
अभियानले नियुक्तिको निर्णयले विधिको शासन, राष्ट्रिय स्वाधीनता र सुरक्षासम्बन्धी प्रश्नसमेत खडा गरेको जनाएको छ। सरकारले निर्णय तत्काल फिर्ता नलिए बृहत् नागरिक आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएको छ।
यद्यपि, अभियानले लगाएका आरोप र दाबी स्वतन्त्र रूपमा पुष्टि भएको तथ्यका रूपमा स्थापित छैनन्। नागरिकता, राष्ट्रियता तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा सम्बन्धित निकायको आधिकारिक निष्कर्ष वा निर्णय सार्वजनिक नभएसम्म तिनलाई आरोप तथा दाबीका रूपमा नै प्रस्तुत गर्नुपर्छ।
प्रकाशित मिति: ३ कार्तिक २०८३, सोमबार











प्रतिक्रिया