काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कन्सासको विचिटामा आयोजित चुनावी सभाका क्रममा फ्रान्समा जारी अशान्तिको प्रसंग उठाएका छन्। आगामी मध्यावधि निर्वाचनको महत्त्वबारे चर्चा गर्दै उनले अमेरिकालाई पनि त्यस्तै अवस्थाबाट जोगाउनुपर्ने भन्दै आफ्ना समर्थकलाई सचेत गराएका छन्।

ट्रम्पले फ्रान्समा भइरहेको हिंसा र विनाशका लागि ‘प्रवासी, जिहादी र कम्युनिस्ट’लाई जिम्मेवार ठहर्‍याएका छन्।

उनले युरोपका वामपन्थी नेताहरूले पश्चिमी देशका मूल्य–मान्यतालाई कमजोर पार्ने खालका आप्रवासन नीति अपनाएको आरोपसमेत लगाए।

युरोपको अवस्थासँग अमेरिकाको तुलना गर्दै ट्रम्पले युरोपले गरेको भनिएका गल्तीबाट अमेरिकाले पाठ सिक्नुपर्ने बताए।

ट्रम्पले भने, ‘विश्वव्यापी वामपन्थी प्रभावमा रहेको युरोपले तेस्रो विश्वका लाखौँ प्रवासीलाई भित्र्याइरहेको छ, जसको पश्चिमी देशहरूसँग कुनै मेल छैन। उनीहरू फ्रान्सको हरेक कुरालाई घृणा गर्छन्। उनीहरू त्यो देशलाई बर्बाद गरिरहेका छन्। हामी आफ्नो देशमा यस्तो हुन दिनेछैनौँ।’

पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले आफूले यसअघि नै फ्रान्सका राष्ट्रपतिलाई देशका सीमा बन्द गर्न चेतावनी दिएको दाबी गरे।

उनले भने, ‘फ्रान्समा जे भइरहेको छ, त्यो विद्यालयका कारण भएको होइन, न त अरू कुनै कारणले हो। यो आप्रवासनका कारण भइरहेको हो।’

प्रकाशित मिति: ४ कार्तिक २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com