तपाईं ३६५ दिन नै खुसी रहनु । तपाईं हरेक पल सत्यको लागि, सत्यमा बाँचिरहनु । तपाईंको ऊर्जा  खुसी निर्माणमा वा सत्यको खोजमा मात्र खर्चनु । किनकी जहाँ सत्य हुन्छ त्यहाँ मात्र खुसी हुन्छ । 

सत्य नै उज्यालो हो । ज्ञान हो, प्रज्ञा हो, बोध हो र मुक्ति हो । वास्तविक खुसी यहाँ पो छ । यसरी पो छ । त्यो सत्य प्रत्येकको भित्र छ, प्रत्येकमा छ । 

प्रत्येक दशैंले सत्यको लागि लड भनिरहन्छ तर हामीले वास्तविक विजयादशमी भन्दा अरू नै कुनै सतहमा रमाइरहेका छौं, रमाइरहन्छौं। जसले हाम्रो बेहोसीको अर्को पर्दा थप्ने भन्दा अरू केही काम गरेको छैन, र गर्दैन।

वास्तवमा हामीले विजयादशमी कहिल्यै मनाएनौं। मनाएकै छैनौं। 

सत्य बोकेका, सत्यको लागि लड्ने मानिसहरूको जमघट बेग्लै हुन्छ। ऊर्जा पृथक हुन्छ। प्रेम हुन्छ। गहिराइ हुन्छ। उच्च मानव मूल्य हुन्छ।  समष्टिको कल्याणको चिन्तन हुन्छ। स्वीकार्यता, सहजता र सरलता प्रचुर हुन्छ।

सत्यको लागि लड्नु नै खुसीको मार्ग पहिल्याउनु हो । तर हामी त क्षणिक भोगविलासलाई खुसी भनिरहेका छौं। अहिलेसम्म त्यही मानिरह्यौं। र त, भोगविलासको समय र तत्पश्चात् पनि हामी फेरि उही पशुवत् स्वभावमा जकडिइरह्यौं । 

महाकाली त एउटा ऊर्जाको, एउटा दृढताको, एउटा चेतनाको, बोधको संकेत मात्र न हुन् कि म आफूभित्रको पशुवत् अर्थात् राक्षसी अवगुणसँग लड्छु, लडिरहन्छु तबसम्म जबसम्म यो दानवत्वसँत जित हासिल गर्दिनँ ।

महाकाली अर्थात् शिवकै अर्को रूप ।

शिव अर्थात् आदियोगी ।

आदियोगी अर्थात् हाम्रो सभ्यताका सुरूवाति योगीहरू मध्ये एक ।

योगी अर्थात् सत्यका द्रष्टा, स्रष्टा, अन्वेषक, अध्येता एंव अभ्यास कर्ता ।

इतिहासले हामीलाई थुप्रै योगीहरू दियो।

योगीहरूले खोजे, भेट्टाए – सत्य र खुसीका मार्ग। उनीहरू दुःखबाट पार भैगए तर ठूलो हिस्साका जनसमुदाय सधैं सत्यबाट, असली खुसीबाट वञ्चित रहिरहे।

सँधै डरको हतियार प्रयोग गरेर शासित र शोषित मनुष्यवर्ग असली लडाईं त भुलि पो गयो । सन्तानले डाँडाकाँडा, पृथ्वी ढाके तर सत्यको लडाईंसँग उसलाई मतलव नै रहेन। 

एकातिर पर्व, संस्कृति नै भन्छ – ‘सत्यको लागि लड्, लड्, लड् !’ तर ऊ यो संस्कारको अरू नै अर्थ लगाइरहे छ । र त यो समुदायले न त सत्य प्राप्त गर्यो न त असलमा खुसी नै रहन सक्यो ।

त्यसैले यसरी, यस्तो कुनै पनि पर्व मनाउनुको औचित्य उहिल्यै समाप्त भैसकेको उसलाई पत्तै छैन । साहेद मानव इतिहासको ५/६ हजार वर्ष अघि नै । अथवा आदि योगीकै पालामा ।

पर्वले तिमीलाई उठाओस् । मानव कलंकहरू मेटिउन् । घाउ, क्लेशहरू हराउन् । हृदयमा चैन मिलोस्। दीर्घ शान्ति प्राप्त होओस्।

तर उदेकलाग्दो के छ भने हामीले प्रयास नै गरेका छैनौं – सत्य प्राप्तीको । र त, आज मानव समुदाय छिन्नभिन्न अवस्थामा छ । किनकी मानिसलाई एकअर्कासँग जोड्ने एकमात्र चीज सत्य मात्रै हो ।

यी पर्वहरू त झिना प्रयासहरू मात्र रहन गए मानिसले मानिसलाई जोड्न । हामी सत्यबाट अति टाढा छौं र त एकअर्काबाट निकै टाढा छौं । जति हामी सत्यको नजिक हुन्छौं उति नै हामी पनि एकअर्कासँग नजिक हुन्छौं।

हामीलाई जोड्ने सत्य कहाँ छ ? खोई हामीले सत्य खोजेको ? के हो त्यो सत्य ? यस्ता पर्वले भन्न खोजेको कस्तो, कुन सत्य हो ? 

हाम्रा देवी देवताहरू त मात्र संकेत हुन् । हाम्रो संभावना र चेतनाको जागरणको र आचरणको ।

अहिलेसम्म न त प्राचीन साहित्यले भनेको जस्तो कुनै देवलोक भनिने कुनै स्थान फेला परेको छ । न त दैत्य लोक नै फेला पर्यो । 

स्वर्गलोक र नर्कलोक त ब्रह्माण्ड या सौर्यमण्डलमा कहीँ पनि, कतै पनि छैनन्। यि त हाम्रा चेतनाका प्रतिविम्ब मात्रै हुन् ।  हाम्रा पुर्खा जसले वेद साहित्य र पुराण साहित्य सिर्जना गरे उनीहरूले सिर्जना गरेका उतिखेरको समयको उच्च साहित्य थिए यि ।

तर हामीले यिनीहरूमा निहित अर्थ पहिचान गर्न सकेनौं । मात्र यिनीहरूमा कथिएको कहानीहरू मात्र याद राख्यौं। 

यति मात्र नभएर सबैभन्दा महत्वपूर्ण र घातक कुरा के भइदियो, चेतनाको तहमा, भने यिनै साहित्यमा लिखित कथा, कहानीलाई सत्य नै मानिदियौं । हजारौं वर्ष देखि यिनै कहानीलाई सत्य जसरी प्रचार गरिरह्यौं ।

यि कथा सत्य होइनन् । यि त अलंकार हुन्, बिम्व हुन्, संकेत मात्र हुन् । सत्य त यिनीहरू भित्र लुकेको छ, जो निकै सांकेतिक छ । जुन हामी पहिचान नै गर्दैनौं । कुनैकुनै कहानी त आजको समयको लागि वाहियात भैसकेका छन् । जसलाई छुट्याएर छेउमा राख्नु नै उचित हुन्छ।

प्राचीन मान्छेले जंगली सभ्यताबाट निस्केर नयाँ समाज निर्माण गर्दैगर्दा नियम र कानुनको पनि सिर्जना, आविष्कार गर्यो वा यसको आवस्यकता पहिचान गर्यो।  विभिन्न तरिकाले तत्कालीन समाजभित्र कानुनको अभ्यास गर्यो । 

जुन समयमा उसले भगवानको कल्पना र सिर्जना गर्यो त्यही क्षणमा उसले डरको पछाडी लुकेको एउटा रहस्य पत्ता लगायो । अझ सबभन्दा महत्वपूर्ण त उसले जुन सत्ता अर्थात् भगवानको कल्पना गर्यो त्योसँगको डरले उसलाई भयभीत बनाउँन थाल्यो । जुन निकै भयंकर भयमा परिवर्तन हुँदै गयो । किनभने उ त आफ्नै कबिलाको मुखियासँग डराउने जीव न थियो । 

आफूभन्दा बलिष्ठ जो कोहीसँग पनि उसले डरको, भयको दुरी राख्नुपर्थ्यो भने त्यो कल्पना जसमा एउटा सर्वशक्तिशाली सत्ता जसले संसारका सबैथोक बनायो होला, यो सबै उसैको देन हो, हामी त उसकै सन्तान मात्र न हौं, उसले चाह्यो भने जेपनि गर्न सक्छ भन्ने कल्पना भावनामा बदलिँदै गयो र त भगवान र देवता भन्ने सत्तासँग झनझन् भयभित हुँदै गयो ।

उसले आफ्ना सीमा र कमजोरीहरू पहिचान गर्नु भन्दा र यिनलाई सुधार्नु भन्दा भगवानले सबै बनाएको म त उसकै गुलाम हुँ भन्ने एक अन्धविश्वासलाई बोकिरह्यो ‌। उ झन् कमजोर र दुखबाट उठ्न नसक्ने भयो ।

यति नै बेला मानिसले कल्पना गरेको भगवान र देवताहरूको नाममा ‘धर्म’ भन्ने कानुन र उतिबेलाको मुखियाको लागि शासन र शोषणको खतरनाक र शक्तिशाली हतियार फेला पर्यो । 

‘धर्म’ अर्थात् पुरानो समयको शासकको शासन र शोषणको शक्तिशाली हतियार अर्थात् मानव इतिहासको सबैभन्दा ठूलो षड्यन्त्र र भ्रम ।

धर्म इतिहासको विशाल झूठ अर्थात् षड्यन्त्र र भ्रम किन भइदियो भने यो सिर्फ शासकवर्गको शासनको यन्त्र अर्थात् साधन मात्रै भइदियो। स्वार्थ, लोभलालच, अंहकार र विध्वंस बोक्ने काइदाको बाहन भइदियो।

अर्कोतिर निमुखावर्ग र कामदारहरुको लागि प्रश्न नै गर्न नमिल्ने कानुन बनाइयो धर्मलाई ‌। धर्ममाथि प्रश्न गर्नु अपराध हुन्थ्यो र सख्त दण्डित भइन्थ्यो ।

धर्ममा के छ र आखिर ! यो गर, त्यो नगर ! आदेश त छ । जसले धर्म बनायो उसले कहिल्यै पालन नै गरेन यसका कानुन काइदा ।

धर्म बनाउने शासकले तिनै योगीहरूका अनुसन्धान र अनुभवलाई यसरी गोलमटोल गरेर व्यवस्थित गर्यो कि जुन सिधै आदेशात्मक भइदिए । जुन शासककै शासन अवधी लम्ब्याउने अश्त्रमा रूपान्तरित भइदिए।

यसरी पहिलो पटक धर्मको हत्या गरियो – अहंकारी शासकको हातबाट । धर्म अर्थात् सत्य । र इतिहासमा पटकपटक अहंकारी शासकहरूले धर्मको हत्या गरिरहे । सत्य सधैं मरिरह्यो । 

तर इतिहासमा पटकपटक केही मनुवाहरू जन्मिरहे जसले सत्यलाई खोजिरहे । धर्मको अनुसन्धान गरिरहे । परिणाम पाए । आनन्दित भए । 

यसरी सभ्य मानव इतिहासको झण्डै पाँच हजार वर्षमा धर्म जोगिइरह्यो । सत्य बाँचिरह्यो र मानव समुदाय पनि जिवीत रहे ।

 आखिर फेरि पनि धर्म भनेको  सत्य हो । सत्य नै धर्म हो । धर्म मानिसको उच्च चेतना हो । धर्म खुसीको मूल स्वभाव हो । धर्म छैन त सृष्टि छैन। असल धर्म त जीवनको आधार हो ।

धर्म जसलाई अर्को शब्दमा अध्यात्म पनि भनियो । धर्म शब्दमा अनेक समस्याहरू देखा पर्न थाले, तिनै अंहकारी शासकहरूले आफूखुसी अर्थ लगाइदिनाले ।

त्यसैले आज अध्यात्म असल धर्मको नाम बन्न गएको छ । धर्म भनेर त हामीले केही संस्कार र परम्परालाई मात्र बुझ्यौं । जुन धर्म सत्य भन्दा निकै टाढा गएर देखावटी र बाध्यात्मक कर्मकाण्डमा मात्रै सीमित भइदियो । जसले गहन खुसी निर्माण गर्नै सकेन ।

दशैं पनि निकै सतही भइदिएको छ । वर्षभरि थकावटपूर्ण जीवनशैली बिताएर केही दिन विश्राम गर्ने मेसो मात्रै भइदिएको छ चाड ।

 हाम्रो जीवनशैली र यो विश्व व्यवस्था नै बोझिलो छ । अनि हामीलाई आराम गर्ने बहाना बनिदिन्छन् चाडपर्व । यो व्यवस्थामा बृहत् परिवर्तन र परिमार्जन अत्यावश्यक छ ।

दशैंमा पूजाको अर्थ पनि खासै उति बुझ्दैनौ हामी । पूजा त निकै आलंकारिक छन् । देवताको पूजा, देवीको पूजा । देवी र देवता आखिर हामी भित्रै छन्, त्यसैको पूजा गरेको र तिनै देवत्व गुणहरूलाई अझैं गहन साधना गरेको हामीले भनेर हामी बुझ्दैनौं ।

हामी देवीदेवता त कुनै अरू नै लोकमा छन् भन्ने कल्पना र फ्यान्टासीमा रमाइदिन्छौं । त्यो देवीदेवता हामी आफैं नै हौं भनेर विस्वास नै गर्दैनौं र देख्दैनौं पनि। हामीलाई हाम्रो उच्च सम्भावनाको बोध छैन, सम्मान छैन, कदर छैन।

यहाँ न कुनै अर्को लोक छ, न कुनै देवीदेवता, भगवान टाढा कतै अर्को लोकमा छन्। यि सबै हामी आफैं नै हौं । प्रकृति बरू हाम्रो स्रष्टा हो । यसको पनि पूजा गरौं।

हाम्रै चेतना उठ्दा हामी भगवान हुन्छौं भने यही चेतना गिर्दा हामी दानव बनिदिन्छौं । महाकाली हाम्रो देवतूल्य गुणको प्रतिनिधि र प्रतीक हुन् भने सुन्डमुसुन्ड, महाषासुरहरू हाम्रै पशुवत् र दानवीय स्वभावका प्रतीक, प्रतिनिधि हुन्।

यी दैत्यरूपी अवगुणहरुलाई तह लगाउने उपाय, प्रविधि, टेक्निक पत्ता लगाए हाम्रा योगीहरूले । तर यसमा हामीलाई कुनै मतलव नै छैन। त्यो अभ्यास र खोज नै गर्नु छैन हामीलाई।

त्यहाँ विधि, पद्धति र खोज छ । आविस्कार छ, अनुसन्धान छ । जुन हामीले सोचेभन्दा सरल र सहज छ । जसले सबैभन्दा महान पर्वको ढोका खोलिदिन्छ । विजयादशमीको त के कुरा ।

वास्तवमा हामी विजयादशमी मनाउँछौं भन्छौं भने त्यो पनि चेतना उत्सव नै हो । न कि सतही रमझम, हल्लाखल्ला र कोलाहल ।

हाम्रो अन्तिम र पहिलो लडाईं नै यही हो –  हरेक युग र हरेक पुस्तामा । सत्य र खुसीको लडाईं । सत्य र खुसी आखिर एउटै हुन् ‌। त्यो प्राप्त गर्नु हाम्रो हक हो । प्रथम धर्म अर्थात् दायित्व पनि । 

सारमा दशैं अर्थात् विजयादशमी यति नै हो । तपाईंले अहिलेसम्म सोचेको जस्तो त हुँदै होइन। यति निम्छरो विजयादशमी हुनै सक्दैन। 

विजयादशमीको हार्दिक मंगलमय शुभकामना।

आफूभित्रको पशुत्वलाई जितौं।

सबैको कल्याण यसमै छ।

मंगलम्।

सुन्नेलाई सुनको माला।

सुन अर्थात् सत्य।

सत्य अर्थात् शिव।

शिव अर्थात् महाकाली।

महाकाली अर्थात् विजयादशमी।

विजयादशमी अर्थात् खुसी।

संसारमा अधर्मको महाकाल बनौं अनि सत्य र खुसीको सदा शक्तिशाली रक्षक बनौं।

जय भवानी!

 

प्रकाशित मिति: ४ कार्तिक २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com