काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्ने शान्ति सम्झौता सम्भावनाको नजिक पुगेको सङ्केत गरेका छन्। वार्ता संवेदनशील अवस्थामा रहेकाले अहिले रुसमाथि थप प्रतिबन्ध लगाउँदा कूटनीतिक प्रयास प्रभावित हुन सक्ने उनको भनाइ छ।
ह्वाइट हाउसबाट दक्षिण क्यारोलिना प्रस्थान गर्नुअघि बुधबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले शान्ति सम्झौताको सम्भावना बढेका बेला प्रतिबन्ध लगाउनु उचित नहुने बताएका हुन्। आवश्यक परे रुसमाथि प्रतिबन्ध लगाउने अधिकार आफूसँग रहेको पनि उनले स्पष्ट पारे।
ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य कारबाहीमा रुस र चीनको भूमिका सीमित रहेको दाबी गर्दै दुवै देशले उल्लेखनीय हस्तक्षेप नगरेकोमा प्रशंसा गरेका छन्। उनले रुस र चीनलाई सहभागी गराएर आणविक निशस्त्रीकरणसम्बन्धी बैठक गर्ने सम्भावनाप्रति पनि सकारात्मक धारणा व्यक्त गरेका छन्।
यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने प्रयासस्वरूप हालको अग्रपङ्क्तिमा लडाइँ रोक्न र कूटनीतिक वार्ता अघि बढाउन युक्रेन तयार रहेको बताएका छन्। युद्धविरामपछि अमेरिका र युरोपेली राष्ट्रहरूबाट सुरक्षा प्रत्याभूति आवश्यक पर्ने उनको भनाइ छ।
डोनबास क्षेत्र त्यागेर युद्ध अन्त्य गर्ने सम्भावनाबारे सोधिएको प्रश्नमा जेलेन्स्कीले रुसले युद्धमैदानमा विजय हासिल गरिरहेको भन्ने दाबी अस्वीकार गरेका छन्। उनले हालको युद्धक्षेत्रको अवस्थालाई आधार बनाएर वार्ता सुरु गर्नुपर्ने र त्यसबाट व्यापक शान्ति योजना अघि बढाउन सकिने बताएका छन्।
यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले ट्रम्प र पुटिनबीच चीनमा हुने आगामी एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा प्रत्यक्ष भेटवार्ता हुन सक्ने बताएका छन्।
प्रकाशित मिति: ६ कार्तिक २०८३, बिहिबार












प्रतिक्रिया