काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले आगामी मंगलबारदेखि नेपालका अधिकांश भूभागमा करिब एक साताभन्दा बढी समय वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।

मौसमविद् विनोद पोखरेलका अनुसार विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मौसम पूर्वानुमान मोडेलले देशका धेरैजसो स्थानमा लगातार झरी र केही क्षेत्रमा भारी वर्षाको सम्भावना देखाएका छन्। यद्यपि वर्षाको स्थान र मात्रा यकिन हुन अझै समय लाग्ने तथा पूर्वानुमानमा परिवर्तन हुन सक्ने उनले बताएका छन्।

कात्तिक धान भित्र्याउने मुख्य समय भएकाले किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। सम्भव भए मंगलबारअघि नै पाकेको धान काटेर सुरक्षित स्थानमा भित्र्याउन वा मौसमको अवस्था हेरेर कटाइको योजना बनाउन सुझाव दिइएको छ। वर्षासँगै केही स्थानमा चट्याङ र असिना पर्ने सम्भावना पनि रहेको बताइएको छ।

यसैगरी, पदयात्रा र पर्यटकीय भ्रमणको मुख्य सिजन भएकाले हिमाली तथा उच्च पहाडी क्षेत्रमा यात्रा गर्नेहरूलाई सावधानी अपनाउन आग्रह गरिएको छ। उच्च हिमाली क्षेत्रमा हिमपात र पहाडी भूभागमा पहिरोको जोखिम हुन सक्ने भएकाले यात्राको योजना बनाउनुअघि जल तथा मौसम विज्ञान विभागका आधिकारिक सूचना र पूर्वानुमान नियमित रूपमा हेर्न सुझाव दिइएको छ।

प्रकाशित मिति: ६ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com