काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कारागारमा रहँदा गरेको भाकल पूरा गर्न भारतका धार्मिकस्थलको भ्रमणमा निस्किएका छन्।
तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गर्ने क्रममा शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आफू र आफ्नो परिवार आध्यात्मिक स्वभावको भएकाले धार्मिक यात्रामा जान लागेको बताए।
उनले आफ्नो भ्रमणलाई अनावश्यक राजनीतिक विवादको विषय नबनाउन आग्रह गरेका छन्। लामिछानेको निजी सचिवालयले पनि भ्रमण पूर्ण रूपमा निजी तथा आध्यात्मिक प्रकृतिको भएकाले यसलाई राजनीतिक रंग नदिन आग्रह गरेको छ।
भ्रमणका क्रममा लामिछाने परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ।
तीनदिने भ्रमण पूरा गरी उनी कात्तिक ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: ७ कार्तिक २०८३, शुक्रबार












प्रतिक्रिया