काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व व्यवस्था र अन्तर्राष्ट्रिय सहकार्यको भविष्यबारे प्रश्नोत्तर भएको छ।
भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ सत्रमा उनीहरूबीच छलफल भएको हो।
छलफलका क्रममा अर्थमन्त्री वाग्लेले बहुपक्षीय व्यवस्थाप्रति ठूला शक्तिहरूको समर्थन कमजोर हुँदै गएको र विश्वमा व्यापारिक गुट तथा विखण्डन बढिरहेको विषय उठाए। उनले विपद् प्रतिकार्य, पोषण, ऊर्जा र स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा द्विपक्षीय, त्रिपक्षीय तथा क्षेत्रीय सहकार्यलाई संस्थागत गर्नुपर्ने हो कि होइन भन्ने प्रश्न गरे।
वाग्लेले भारतले नेपाललाई विपद्का बेला गरेको सहयोगको प्रशंसा गर्दै सन् २०१५ को भूकम्प र हालै रसुवा–भोटेकोसी क्षेत्रमा आएको विपद्का क्रममा भारतले देखाएको तत्परताप्रति नेपाल कृतज्ञ रहेको बताए।
उनले बदलिँदो विश्व परिस्थितिमा बहुपक्षीयतालाई क्षेत्रीय सहकार्यमा रूपान्तरण गर्नुपर्ने अवस्था आएको हो कि भन्दै जयशंकरसँग प्रश्न गरे।
जवाफमा भारतीय विदेशमन्त्री जयशंकरले पछिल्ला दुई दशकमा देशहरू औपचारिक प्रतिबद्धताभन्दा तत्काल परिणाम दिने सहकार्यतर्फ आकर्षित भएको बताए। औपचारिक संस्थागत संरचना निर्माण गर्दा वार्ता, प्रशासनिक प्रक्रिया, खर्च र नियममै धेरै समय बित्ने गरेको उनको भनाइ थियो।
जयशंकरले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनजस्ता औपचारिक संरचना उपयोगी भए पनि सबै सहकार्यलाई एउटै ढाँचामा बाँध्न आवश्यक नरहेको बताए। साझेदार र प्रतिबद्धताको स्तरअनुसार सहकार्यको स्वरूप फरक हुन सक्ने उनको धारणा थियो।
उनले ब्रिक्सको उदाहरण दिँदै त्यसको आफ्नै सचिवालय र सदस्यहरूले हस्ताक्षर गरेको लिखित बडापत्र नभए पनि समूहले काम गरिरहेको उल्लेख गरे।
भारतले पछिल्लो दशकमा विभिन्न क्षेत्रमा करिब ५० वटा द्विपक्षीय, त्रिपक्षीय, चतुर्पक्षीय तथा समान विचारधारा भएका देशका समूहमा सहकार्य अघि बढाएको उल्लेख गर्दै जयशंकरले कम प्रशासनिक भार र परिणाममुखी कार्यशैलीप्रति आकर्षण बढिरहेको बताए।
प्रकाशित मिति: ७ कार्तिक २०८३, शुक्रबार












प्रतिक्रिया