काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतविरोधी भावनालाई नेपाली राष्ट्रवादसँग जोड्ने समय सकिएको बताएका छन्।
भारत भ्रमणमा रहेका वाग्लेले शुक्रबार नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले भारतसँग सुमधुर सम्बन्ध चाहेको बताए।
नेपाल–भारत सम्बन्धबारे आयोजित विशेष सत्रमा उनले दुई देशबीच बेलाबेला समस्या देखिए पनि भौगोलिक तथा सामाजिक निकटताले गहिरो सम्बन्ध जोडेको उल्लेख गरे। प्रधानमन्त्री शाहले चाँडै भारत भ्रमण गर्ने जानकारी पनि उनले दिए।
‘प्रोक्सिमिटी टु प्रस्पेरिटी : द इन्डिया–नेपाल अपरच्युनिटी’ शीर्षकको सत्रमा वाग्लेले नेपाल–भारतको निकटतालाई आर्थिक समृद्धिको अवसरमा बदल्नुपर्नेमा जोड दिए।
उनले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि बाढीपहिरोजस्ता विपद्बाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण गर्न नेपालले ऋण लिनुपर्ने अवस्थामाथि प्रश्न उठाए। क्षतिग्रस्त पुल, सडक, जलविद्युत् आयोजना र घर पुनर्निर्माणको आर्थिक भार नेपालले नै व्यहोर्नुपर्ने विषयलाई अन्तर्राष्ट्रिय बहसमा ल्याउनुपर्ने उनको भनाइ थियो।
वाग्लेले भने विपद्का बेला भारतले गरेको तत्काल सहयोगको प्रशंसा गरे। २०७२ सालको भूकम्पपछि केही घण्टामै भारतीय सहायता काठमाडौं आइपुगेको स्मरण गर्दै उनले पछिल्लो बाढीपछि पनि भारतले सहयोगको तत्परता देखाएको बताए। बाढीपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई फोन गरेर सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको पनि उनले उल्लेख गरे।
सम्मेलनमा वाग्लेले नेपालको जेनजी आन्दोलन र युवा पुस्ताको राजनीतिक अपेक्षाबारे पनि धारणा राखे। स्मार्टफोन र सामाजिक सञ्जालसँग हुर्किएको युवा पुस्ता यथास्थिति स्वीकार्न तयार नरहेको उल्लेख गर्दै उनले सडकमा व्यक्त आक्रोशलाई लोकतान्त्रिक संस्थासँग जोडेर परिवर्तनलाई दीर्घकालीन बनाउनुपर्ने बताए।
यसअघि बिहीबार भारतीय विदेशमन्त्री एस. जयशंकर सहभागी सत्रमा वाग्लेले बदलिँदो विश्व व्यवस्थामा समान स्वार्थ भएका देशबीच साना र लचिला समूह बनाएर सहकार्य गर्ने प्रवृत्तिबारे प्रश्न गरेका थिए।
एनडीटीभीले बिहीबार र शुक्रबार आयोजना गरेको सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सम्बोधन गरेका थिए। सोही अवसरमा मोदी र वाग्लेबीच भेट भएको थियो।
प्रकाशित मिति: ७ कार्तिक २०८३, शुक्रबार












प्रतिक्रिया