काठमाडौं । महँगी र बढ्दो जीवनयापन खर्चविरुद्ध फ्रान्समा शनिबार पुनः देशव्यापी प्रदर्शन हुँदै छ। गत साता प्रदर्शनका क्रममा हिंसा, तोडफोड र लुटपाटका घटना भएपछि सरकारले सुरक्षा व्यवस्था कडा पार्दै करिब ७० हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ।
सम्भावित हिंसा नियन्त्रण गर्न २० बख्तरबन्द सवारीसाधन र पानीको फोहोरा प्रहार गर्ने १५ वटा सवारीसाधनसमेत परिचालन गरिने जनाइएको छ।
गत शनिबार पाँच लाखभन्दा बढी मानिस प्रदर्शनमा सहभागी भएका थिए। त्यसक्रममा पसलमा तोडफोड र लुटपाट हुनुका साथै सवारीसाधनमा आगजनी भएको थियो। हालसम्म दुई हजार ७०० भन्दा बढी मानिस पक्राउ परिसकेका छन्। गत सप्ताहान्तमा कम्तीमा तीन हजार पसलमा क्षति पुगेको र व्यवसायीले करोडौँ डलर बराबरको आर्थिक नोक्सानी व्यहोरेको जनाइएको छ।
हिंसा दोहोरिन सक्ने जोखिमका कारण विभिन्न सहरमा रात्रिकालीन कर्फ्यु र सार्वजनिक भेला गर्न प्रतिबन्ध लगाइएको छ। पेरिसस्थित लुभ्र सङ्ग्रहालय बन्द रहनेछ भने पेरिस सेन्ट–जर्मेन र लियोनबीचको फुटबल खेल स्थगित गरिएको छ।
पेरिसमा कर्फ्यु सोमबारसम्म बढाइएको छ। मार्सेई र लियोनमा शनिबार भेला हुन रोक लगाइएको छ भने बोर्दो, नीस र उत्तरी फ्रान्सका विभिन्न सहरमा पनि कर्फ्यु जारी छ। केही क्षेत्रमा बालबालिका तथा किशोरकिशोरीलाई राति बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ।
विद्यालयको दयनीय अवस्थाविरुद्ध सुरु भएको आन्दोलन अहिले महँगी, जीवनयापनको बढ्दो खर्च र सरकारी सेवासुविधामा गरिएको कटौतीविरुद्ध फैलिएको छ। राष्ट्रपति इम्यानुएल माक्रोंले शुक्रबार छात्र सङ्गठनका प्रतिनिधिसँग भेटवार्ता गरेका छन्। आन्दोलन सुरु भएयता छात्र सङ्गठनसँग उनको यो पहिलो प्रत्यक्ष बैठक हो।
माक्रोंले यसअघि सप्ताहान्तमा मजदुर सङ्गठनका प्रदर्शनलाई मात्र अनुमति दिने बताएका थिए। त्यसको विरोध गर्दै प्रमुख छात्र सङ्गठन यूएनईएफले प्रतिबन्धका बाबजुद शनिबार र्याली निकाल्ने घोषणा गरेको छ। सङ्गठनले सरकारले प्रदर्शन गर्ने अधिकार खोस्न खोजेको आरोप लगाएको छ।
वामपन्थी दल ‘फ्रान्स अनबाउड’का नेता जाँ–लुक मेलँसोंले प्रदर्शनमाथिको प्रतिबन्धको आलोचना गर्दै सरकार र प्रहरीको कार्यशैलीले परिस्थिति थप बिगारेको आरोप लगाएका छन्।
गत प्रदर्शनका क्रममा पेरिसका सुपरमार्केट, विद्युतीय सामग्रीका पसल, बैंक र महँगा ब्रान्डका बिक्रीकक्षमा तोडफोड तथा लुटपाट भएको थियो। प्रदर्शनकारीले सवारीसाधनमा आगजनी गर्नुका साथै सडक अवरुद्ध गरेका र सार्वजनिक पूर्वाधारमा क्षति पुर्याएका थिए। मध्य फ्रान्सको लिमोज सहरमा रहेको १९औँ शताब्दीको ऐतिहासिक नगर भवनमा समेत क्षति पुगेको थियो।
प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले हिंसाबाट प्रभावित व्यवसायीलाई कर छुट र आर्थिक राहत उपलब्ध गराउने घोषणा गरेका छन्। छात्र सङ्गठन र ‘येलो भेस्ट’ आन्दोलनका सहभागीले शनिबार पुनः प्रदर्शन गर्ने तयारी गरेका छन्। मजदुर सङ्गठनहरूले भने नोभेम्बर ५ मा आमहडताल गर्ने घोषणा गरेका छन्। हिंसा दोहोरिए अन्य क्षेत्रमा पनि कर्फ्यु लगाउन सकिने सरकारले चेतावनी दिएको छ।
राष्ट्रपति माक्रोंले हिंसाका लागि कट्टरपन्थी वामपन्थी समूह र लुटपाटमा संलग्नलाई जिम्मेवार ठहर गरेका छन्। प्रधानमन्त्री लेकोर्नुले पनि केही समूहले जानाजानी प्रहरी, सरकारी भवन र अन्य सम्पत्तिलाई निशाना बनाएको आरोप लगाएका छन्। मुख्य विपक्षी दलकी नेतृ मरिन लेपेनले भने सरकार कानुनव्यवस्था कायम राख्न असफल भएको आरोप लगाउँदै हिंसाले लोकतन्त्रसमेत खतरामा पार्न सक्ने चेतावनी दिएकी छन्।
प्रकाशित मिति: ८ कार्तिक २०८३, शनिबार












प्रतिक्रिया