काठमाडौं । भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा प्रेमीसँग विवाह गर्न परिवारले अनुमति नदिएपछि १९ वर्षीया युवती मोबाइल फोनको टावरमा चढेकी छन्। तीन घण्टाभन्दा बढी समयपछि प्रेमीसँग फोनमार्फत निकाह गराएपछि उनलाई सुरक्षित रूपमा तल झारिएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार मेहक र नूरुद्दीनबीच पाँच महिनादेखि प्रेम सम्बन्ध थियो। तर, दुवै परिवार उनीहरूको विवाहका लागि सहमत थिएनन्। नूरुद्दीन दुई महिनाअघि कामका लागि मुम्बई गएका थिए।

शुक्रबार बिहान विवाहको विषयमा आमासँग विवाद भएपछि मेहक घरबाट निस्किएर गाउँबाहिर रहेको मोबाइल टावरमा चढेकी थिइन्। गाउँले र महिला प्रहरीको टोलीले उनलाई तल झर्न आग्रह गरे पनि प्रेमीसँग विवाह नगरेसम्म नओर्लिने अडान लिइन्।

घटनास्थलमा दुवै परिवार, प्रहरी र गाउँले भेला भएपछि अन्ततः विवाह गराउने सहमति भयो। त्यसपछि गाउँको मस्जिदका काजीलाई बोलाएर मुम्बईमा रहेका नूरुद्दीनसँग फोनमार्फत सम्पर्क गरियो। नूरुद्दीनको सहमतिपछि टावरमा रहेकी मेहकसँग पनि फोनबाट निकाह स्वीकार गर्न लगाइयो।

विवाह सम्पन्न भएपछि मेहक टावरबाट ओर्लिन तयार भइन्। महिला प्रहरीको सहयोगमा उनलाई सुरक्षित रूपमा तल झारियो।

तर, मेहककी आमाले विवाहपछि पनि उक्त सम्बन्ध स्वीकार नगरेको बताइएको छ। उनले छोरी अझै प्रेमीसँग बस्न चाहन्छे भने घर छोड्न सक्ने प्रतिक्रिया दिएकी थिइन्।

त्यसपछि प्रहरीले मेहक र उनका परिवारका सदस्यलाई प्रहरी चौकीमा लगेर परामर्श दिएको थियो। परामर्शपछि मेहकलाई आमासँगै घर पठाइएको प्रहरीले जनाएको छ।

प्रहरी चौकीका प्रमुख ब्रह्मानन्द गौरका अनुसार युवती प्रेमीसँग विवाह गर्न जिद्दी गर्दै टावर चढेकी थिइन्। निकाह सम्पन्न भएपछि उनलाई तल झारिएको हो। घटनाबारे उजुरी परे थप कारबाही गरिने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ८ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com