काठमाडौं । दक्षिण प्रशान्त महासागरमा अवस्थित भानुअटु द्वीपसमूहमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि सम्भावित जनधनको क्षति र सुनामीको जोखिमबारे स्पष्ट विवरण सार्वजनिक भएको छैन।

राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार अक्टोबर २४ को बिहान ८ बजेर १ मिनेटमा भूकम्प गएको हो। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सोही क्षेत्रमा करिब २५ सेकेन्डको अन्तरमा ६.९ म्याग्निच्युडको अर्को भूकम्पसमेत मापन गरिएको थियो।

पहिलो भूकम्पको केन्द्रविन्दु भानुअटुको सोला क्षेत्रबाट करिब २०० किलोमिटर पश्चिममा १० किलोमिटर गहिराइमा रहेको थियो। दोस्रो भूकम्पको केन्द्रविन्दु पोर्ट–ओलरीबाट करिब १९७ किलोमिटर उत्तरपश्चिममा सोही गहिराइमा रहेको जनाइएको छ।

दुवै भूकम्प उथलो गहिराइमा गएको मापनले उक्त क्षेत्रमा सक्रिय भूकम्पीय गतिविधि भएको सङ्केत गर्छ। तर, भूकम्पबाट भएको क्षति वा सुनामीको सम्भावनाबारे आधिकारिक विवरण उपलब्ध छैन।

भानुअटु अस्ट्रेलियाको पूर्व र फिजीको पश्चिममा पर्ने दक्षिण प्रशान्त महासागरको द्वीपीय राष्ट्र हो। यो अस्ट्रेलियाबाट करिब एक हजार ७५० किलोमिटर पूर्वमा अवस्थित छ।

पृथ्वीको बाहिरी तह विभिन्न टेक्टोनिक प्लेटमा विभाजित छ। यी प्लेटहरू निरन्तर चलायमान रहँदा आपसमा ठोक्किने वा घर्षण हुने क्षेत्रमा ऊर्जा सञ्चित हुन्छ। उक्त ऊर्जा अचानक बाहिर निस्कँदा भूकम्प जाने गर्छ।

प्रकाशित मिति: ८ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com