काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनावमुखी मात्रै भएको आरोप लगाएका छन्। उनले रास्वपाभित्रै प्रधानमन्त्री बालेन शाहलाई असफल बनाउने षड्यन्त्र भइरहेको दाबी गरेका छन्।
रौतहटको गरुडामा अग्रगामी मोर्चाको नगर कमिटीद्वारा आयोजित कार्यक्रममा बोल्दै साहले रास्वपा नेताहरू देश र जनताको भन्दा सत्ता र निर्वाचन जित्ने चिन्तामा केन्द्रित रहेको टिप्पणी गरे।
उनले रास्वपा सभापति रवि लामिछानेसमर्थित कार्यकर्ताहरू सामाजिक सञ्जालमा उग्र रूपमा प्रस्तुत भइरहेको आरोप लगाउँदै पार्टीको कोर टिमले नै प्रधानमन्त्री शाहलाई असफल बनाउन खोजेको दाबी गरे। सरकारलाई बाहिरबाट खतरा नरहे पनि पार्टीभित्रैबाट असफल बनाउने प्रयास भइरहेको उनको भनाइ थियो।
साहले सभापति लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले र सभामुख डिपी अर्यालबीच प्रधानमन्त्री शाहलाई असफल बनाउने उद्देश्यले मोर्चाबन्दी भएको आरोपसमेत लगाए।
उनले लामिछानेको यसअघिको भारत भ्रमण, चीन भ्रमणको तयारी र हालैको धार्मिक यात्राका क्रममा भएको भारत भ्रमण तथा अर्थमन्त्री वाग्लेको भारत भ्रमणलाई जोड्दै रास्वपाको नेतृत्व तहका बारम्बारका भारत भ्रमणलाई सामान्य रूपमा लिन नहुने टिप्पणी गरे।
प्रकाशित मिति: ८ कार्तिक २०८३, शनिबार












प्रतिक्रिया