काठमाडौं । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। शुक्रबार रातिदेखि शनिबार बिहानसम्म भएका दुर्घटनामा मोटरसाइकल चालक, पैदलयात्री तथा सवारीसाधनमा सवार व्यक्तिले ज्यान गुमाएका हुन्।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ मा शुक्रबार राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहाको भगवानपुर गाउँपालिका–१ सिनुरियाका १८ वर्षीय जयप्रकाश साह रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अर्को मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी, काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–८ घर्तीछापस्थित सडकमा शुक्रबार दिउँसो मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक २४ वर्षीय दिनेश पाख्रिनको घटनास्थलमै मृत्यु भएको छ।
कास्कीको पोखरा महानगरपालिका–२९ आदर्श चोकमा शुक्रबार बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्री ५५ वर्षीय रमाकान्त शर्माको मृत्यु भएको छ। तालचोकबाट पावरहाउसतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका शर्माको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नवलपरासी पश्चिमको सुनवल नगरपालिका–३ कीर्तिपुरस्थित सडकमा शुक्रबार बेलुकी मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार रूपन्देहीको देवदह नगरपालिका–९ का ४० वर्षीय सुवास सेन्चुरीको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेज, भलुहीमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार ५० वर्षीया सुनिता देवी पण्डितको मृत्यु भएको छ। मानपुरबाट माधोपुरतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएकी उनको गरुडास्थित हेल्थ ल्याण्ड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित सडकमा शनिबार बिहान दुई कार आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी काठमाडौँ बस्दै आएका कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न दुवै कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: ८ कार्तिक २०८३, शनिबार












प्रतिक्रिया