विराटनगर । कुनै समय काटमार, धम्की, आर्थिक असुली र श्रमशोषणका घटनाले चर्चामा रहने मोरङ कारागारमा अहिले कैदीबन्दीको दैनिकी फेरिन थालेको छ। कारागारभित्रको संगठित आपराधिक सञ्जालमाथि प्रशासनले हस्तक्षेप गरेपछि कैदीबन्दीलाई विपश्यना ध्यान, नैतिक शिक्षा र सकारात्मक व्यवहार परिवर्तनका अभ्यासमा सहभागी गराउन थालिएको हो।

विराटनगर–८, हाटखोलास्थित मोरङ कारागारमा अहिले बिहान र बेलुका सामूहिक ध्यान सञ्चालन भइरहेको छ। नयाँ व्यक्ति कारागारभित्र प्रवेश गर्दा आदरपूर्वक नमस्कार गर्ने, नियमित दैनिकी पालना गर्ने र सामूहिक ध्यानमा सहभागी हुने अभ्यास सुरु भएको छ। कारागारभित्र रहेका कैदीबन्दी तथा बालसुधार गृहका बालबिज्याइँकर्तालाई आत्मचिन्तन र अनुशासनतर्फ प्रेरित गर्ने उद्देश्यले यो अभियान अघि बढाइएको हो।

मोरङ कारागारको ‘ए’ ब्लकमा ५६७, ‘बी’ ब्लकमा ५३१ र महिला ब्लकमा ११० कैदीबन्दी छन्। त्यस्तै, हाटखोलास्थित बालसुधार गृहमा ६० र कञ्चनबारीस्थित बालसुधार गृहमा करिब २०० बालबिज्याइँकर्ता रहेका छन्। उनीहरूलाई विपश्यना ध्यानका साधकमार्फत बिहान–बेलुका आनापान ध्यान, नैतिक शिक्षा र सकारात्मक व्यवहार परिवर्तनसम्बन्धी अभ्यास गराउन थालिएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसमेत कारागारका विभिन्न ब्लकमा पुगेर ध्यान कार्यक्रममा सहभागी हुँदै आएका छन्। उनको पहलमा करिब एक महिनादेखि नियमित ध्यान सञ्चालन भइरहेको छ।

‘कारागारलाई केवल सजाय भोग्ने ठाउँका रूपमा नभई सुधार र पुनःस्थापनाको स्थान बनाउने हाम्रो प्रयास हो,’ कट्टेलले भनेका छन्, ‘त्यसैले कैदीबन्दीलाई ध्यान, योग र सकारात्मक व्यवहार परिवर्तनका कार्यक्रमसँग जोडिरहेका छौँ।’

आर्थिक शोषण र आपराधिक सञ्जालमाथि हस्तक्षेप

कारागारमा सुधारको प्रयास एकाएक सुरु भएको होइन। कैदीबन्दीको भत्ता र श्रमको पारिश्रमिकमा अनियमितता, मिटरब्याजको कारोबार तथा धम्की दिएर आर्थिक र शारीरिक शोषण हुने गरेको सूचनापछि प्रशासनले गत असारदेखि अनुसन्धान अघि बढाएको थियो।

‘बी’ ब्लकका ५३६ कैदीबन्दीलाई प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँका दरले वितरण गरिएको १३ लाख ४० हजार रुपैयाँ गायब भएको सूचना पाएपछि प्रशासनले अनुसन्धानलाई तीव्र बनाएको थियो।

त्यसक्रममा कारागारका पूर्वचौकीदार तथा आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लागेका विराटनगरका अभिषेक गिरीलाई १३ असार २०८३ मा पक्राउ गरिएको थियो। मानव अपहरण कसुरमा आठ वर्षको सजाय भुक्तान गरेर २०७८ सालमै छुटेका गिरीमाथि कारागारबाहिर बसेर भित्र रहेका सहयोगीमार्फत कैदीबन्दीमाथि आर्थिक शोषणको सञ्जाल सञ्चालन गरेको आरोप लागेको थियो।

गिरी पक्राउ परेपछि चौकीदार सञ्जय मण्डल, कार्यालय सहयोगी शिवचरण यादव र आपूर्तिकर्ता विजय कामतलगायतलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो। उनीहरूमाथि आपराधिक लाभसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको विवरणमा उल्लेख छ।

तर, त्यसपछि पनि कारागारको अवस्था तत्काल सामान्य बनेन। गिरोहसँग सम्बन्धित भनिएका कैदीबन्दीले नाराबाजी गर्ने, प्रहरी प्रशासनलाई भित्र प्रवेश गर्न नदिने र आगजनीको प्रयास गर्नेजस्ता गतिविधि गरेको प्रशासनको भनाइ छ।

त्यसपछि प्रशासनले कारागारभित्र थप हस्तक्षेप गर्दै आपराधिक सञ्जालसँग सम्बन्धित ३७ जना कैदीबन्दीलाई पटक–पटक अन्य कारागारमा स्थानान्तरण गरेको थियो। खानतलासीका क्रममा गोप्य कोठामा लुकाइएका फलामका रड तथा एक कोठाबाट १० लाख रुपैयाँ नगदसमेत बरामद गरिएको विवरणमा उल्लेख छ।

यी कारबाहीपछि कारागारको वातावरण क्रमशः शान्त बनेको र कैदीबन्दीलाई सुधारका कार्यक्रममा सहभागी गराउने वातावरण तयार भएको प्रशासनको दाबी छ।

२५ लाख रुपैयाँमा ध्यान शिविरको संरचना निर्माण

नियमित ध्यान अभ्यासलाई थप व्यवस्थित बनाउन मोरङ कारागारभित्रै करिब २५ लाख रुपैयाँ खर्च गरेर विपश्यना ध्यान शिविर सञ्चालनका लागि छुट्टै संरचना निर्माण भइरहेको छ। विपश्यना ध्यान केन्द्रले आफ्ना साधकहरूबाट सहयोग जुटाएर संरचना तयार गरिरहेको छ।

चाडपर्वपछि कात्तिकको अन्तिम सातादेखि २४ जनाको समूह बनाएर दसदिने विपश्यना ध्यान शिविर सञ्चालन गर्ने तयारी छ। त्यसपछि क्रमशः अन्य कैदीबन्दी तथा १८ वर्षभन्दा माथिका बालबिज्याइँकर्तालाई सहभागी गराउने योजना रहेको धर्मसेवक इन्जिनियर समीर तिमल्सिनाले बताएका छन्।

धर्मसेवक मदन कठायतलगायत साधकहरूले कारागारभित्रै बसेर कैदीबन्दीलाई ध्यान सिकाउन सहयोग गरिरहेका छन्। शिविरमा सहभागी हुनेहरूले दस दिनसम्म निर्धारित ध्यान विधि र अनुशासन पालना गर्नुपर्नेछ।

ध्यान शिविरको संरचना निर्माणमा सहयोग गर्न चाहने साधकले प्रशासनसँग समन्वय गर्न सक्ने जनाइएको छ।

सजायसँगै सुधार र पुनःस्थापनामा जोड

कारागारभित्र ध्यान सञ्चालन गर्नुको उद्देश्य कैदीबन्दीलाई केही समय शान्त राख्नु मात्र नभई आत्मचिन्तन, अनुशासन र सकारात्मक व्यवहार विकासमा सहयोग पुर्‍याउनु पनि हो। सजाय भुक्तानपछि समाजमा फर्किने व्यक्तिले पुनः अपराधको बाटो नसमातून् भन्ने अपेक्षासहित ध्यान, योग र नैतिक शिक्षालाई प्राथमिकता दिइएको प्रशासनको भनाइ छ।

यद्यपि, कारागार सुधारको वास्तविक उपलब्धि ध्यानमा सहभागी हुने संख्याले मात्र निर्धारण गर्दैन। कैदीबन्दीमाथि हुने आर्थिक शोषणको अन्त्य, श्रमको उचित पारिश्रमिक, सुरक्षा, मानवअधिकारको संरक्षण र रिहाइपछि समाजमा पुनःस्थापित हुने अवसर पनि उत्तिकै महत्त्वपूर्ण छन्।

मोरङ कारागारमा संगठित आपराधिक सञ्जालको प्रभाव घटाउने प्रयाससँगै ध्यान र व्यवहार परिवर्तनका कार्यक्रम सुरु हुनुलाई सुधारतर्फको पहलका रूपमा हेरिएको छ। यी कार्यक्रमलाई नियमित, पारदर्शी र परिणाममुखी बनाउन सके कारागारलाई दण्ड भोग्ने स्थानमा सीमित नराखी सुधार र पुनःस्थापनाको केन्द्र बनाउने लक्ष्यमा सहयोग पुग्न सक्छ।

प्रकाशित मिति: ९ कार्तिक २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com