काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ एसिया–प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मंगलबार थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्।
संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (यूएन इएससीएपी) द्वारा आयोजित सम्मेलनलाई मन्त्री श्रेष्ठले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ।
त्यस्तै, थाइल्याण्ड, नेपाल र यूएन इएससीएपीको संयुक्त आयोजनामा बिहीबार हुने ‘सगरमाथादेखि सागरसम्म : एसिया–प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी–त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई पनि मन्त्री श्रेष्ठले सम्बोधन गर्नेछन्।
सम्मेलनका क्रममा मन्त्री श्रेष्ठले विभिन्न देशका मन्त्रीहरूसँग साइडलाइन वार्ता गर्ने कार्यक्रम रहेको उनका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जनले जानकारी दिए।
महर्जनका अनुसार मन्त्री श्रेष्ठले सम्मेलनमा विपद् पूर्वसूचना प्रणालीको विकास, क्षेत्रीय स्याटेलाइटको निःशुल्क प्रयोग तथा जलवायु क्षतिपूर्तिको विषय उठाउने तयारी गरेका छन्।
मन्त्री श्रेष्ठसँगै भ्रमण टोलीमा जल तथा मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ एवं वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका बोर्ड सदस्य अंकिता शाह सहभागी छन्।
मन्त्री श्रेष्ठ शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।
प्रकाशित मिति: ११ कार्तिक २०८३, मंगलबार












प्रतिक्रिया