काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र वडादेखि केन्द्रसम्म संस्थागत रूपमा मौलाएको गुटबन्दी अन्त्य गर्दै सबैलाई समेटेर अघि बढ्ने घोषणा गरेका छन्।

पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै थापाले पार्टीका प्रदेश तथा जिल्ला अधिवेशनको मिति आगामी स्थानीय तह निर्वाचनलाई ध्यानमा राखेर तय गरिने बताए। यसका लागि छिट्टै केन्द्रीय समितिको बैठक बसेर कार्यसमितिसँग छलफल गरिने उनको भनाइ छ।

थापाले हालै सम्पन्न महाधिवेशनलाई नेपालको राजनीतिक इतिहासमा ठूलो सहभागितासहित सम्पन्न भएको ऐतिहासिक अधिवेशनका रूपमा व्याख्या गरे। व्यवस्थापन चुनौतीपूर्ण भए पनि सबैको सहयोगले महाधिवेशन सफल भएको उनले बताए।

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाबारे बोल्दै थापाले निर्वाचनमा पराजित हुँदैमा नेताहरूको भूमिका समाप्त नहुने स्पष्ट पारे। योग्य र अनुभवी नेताहरूलाई जिम्मेवारीमा समेटेर अघि बढाउनुपर्ने उनको भनाइ थियो।

“पार्टीभित्र सबैले आ–आफ्नो भूमिका र सम्मानजनक स्थान पाउनुपर्छ,” उनले भने, “जित्नेले सबै पाउने र हार्नेले सबै गुमाउने संस्कृति पार्टीभित्र चल्दैन।”

प्रतिस्पर्धालाई सिकाइ र अनुभवका रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले फरक क्षमता, योग्यता र अनुभव भएका नेता–कार्यकर्तालाई पार्टीको हितमा उपयोग गरिने बताए।

थापाले पार्टीभित्रको तिक्तता, कटुता र असहिष्णुता अन्त्य गर्दै वडादेखि केन्द्रसम्म गुट निर्माण गर्ने परिपाटी हटाउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: ११ कार्तिक २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com