काठमाडौं । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपालको राष्ट्रियता र सार्वभौमसत्ताको पक्षमा आवाज उठाउनु कुनै पनि राष्ट्रको विरोध गर्नु नभएको बताएका छन्। उनले प्रधानमन्त्री र अर्थमन्त्रीले भारतसँगको सम्बन्धबारे दिएका अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद् पुनः सञ्चालन भएपछि सरकारसँग जवाफ माग्ने बताएका छन्।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै राईले नेपालले पञ्चशीलको सिद्धान्तका आधारमा सबै मुलुकसँग सन्तुलित र सौहार्दपूर्ण सम्बन्ध कायम गर्नुपर्ने धारणा राखे।
‘हामी कुनै पनि राष्ट्रको विरुद्धमा होइनौँ। हाम्रो देशले पञ्चशीलको आधारमा बुद्धत्वको दृष्टिकोणले सबैसँग सन्तुलित र सुमधुर सम्बन्ध विस्तार गर्नुपर्दछ। तर यसको मतलब कुनै देशको विरुद्धमा पनि हामी होइनौँ,’ उनले भने।
प्रधानमन्त्रीले भारतसँगको सीमा सम्बन्धमा दिएको अभिव्यक्ति र अर्थमन्त्रीले भारतबारे व्यक्त गरेको धारणामाथि संसद्मा प्रश्न उठाउने राईले बताए। सरकारका पछिल्ला गतिविधिले प्रधानमन्त्री र अर्थमन्त्रीका अभिव्यक्ति आकस्मिक नभई नियोजित हुन सक्ने आशंका उत्पन्न गरेको उनको भनाइ छ।
संसद्को बैठक पुनः सुरु भएपछि प्रधानमन्त्रीको अभिव्यक्तिबारे सदनमा प्रश्न उठाउने उनले बताए। राष्ट्रियता, राष्ट्रिय एकता, समृद्धि र सार्वभौमसत्ताको रक्षा आफ्नो पार्टीको प्रमुख प्राथमिकता रहेको पनि उनले उल्लेख गरे।
‘पार्टी र दल जन्मिँदै जान्छन्, सिद्धिँदै जान्छन्, नयाँ आउँछन् तर देश रहनुपर्छ,’ राईले भने।
व्यक्तिगत वा पार्टीगत स्वार्थका कारण राष्ट्रिय हितमा असर पर्ने अभिव्यक्ति दिन नहुने उनको धारणा छ। कूटनीतिको नाममा आफ्नै देशको हितविपरीत हुने गरी अभिव्यक्ति दिनु उचित नहुने उनले बताए।
अर्थमन्त्रीको राजीनामा माग्ने वा आन्दोलनमा जाने विषयमा भने संसद् खुलेपछि पार्टीले आफ्नो धारणा थप स्पष्ट पार्ने राईले जानकारी दिए।
प्रकाशित मिति: ११ कार्तिक २०८३, मंगलबार












प्रतिक्रिया