काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘नक्कली भगवान्’ जन्मिएर हैरान पारेको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।
मंगलबार काठमाडौँमा आयोजित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै ओलीले देवताहरूको जन्मसम्बन्धी प्रसङ्ग उल्लेख गर्दै यस्तो टिप्पणी गरेका हुन्।
उनले २२–२३ सय वर्षअघि देवताहरूको जन्म धेरै भएको र पार्वतीको श्रापपछि देवताहरूको जन्म हुन छाडेको प्रसङ्ग सुनाए।
‘२२–२३ सय वर्षअघि भगवानहरू छ्यासछ्यासती जन्मिँदा तेत्तिसकोटी जन्मिए । धन्न पार्वतीले श्राप दिइछन् र देवता जन्मिन पाएनन्,’ ओलीले भने, ‘अब कुनै देवताको पनि सन्तान नहोस् भनेपछि ठप्प भए देवताहरू, तर पार्वतीले श्राप दिएपछि फेरि नक्कली भगवान् जन्मिएर हैरान छ।’
ओलीले नेपाली समाजमा दक्षिणतिरबाट आउने जोगी तथा साधुलाई सहजै सम्मान गर्ने तर आफ्नै देशका विद्वान्लाई पर्याप्त महत्त्व नदिने प्रवृत्ति रहेको पनि बताए।
‘हामी आफैँले पनि दक्षिणतिरका जोगी आए भनेदेखि ठ्याप्पै खुट्टा समातेर ढोग्न मन लागिहाल्ने चलन छ,’ उनले भने, ‘आफ्नाकहाँ विद्वान् त्यति चिन्दैनौँ।’
उनले नेपाली विद्वान्हरूले लेखेका ग्रन्थलाई उद्धरण गर्नेभन्दा विदेशी लेखकका पुस्तक र विचारलाई बढी उद्धृत गर्ने प्रवृत्ति रहेको टिप्पणी गरे।
प्रकाशित मिति: ११ कार्तिक २०८३, मंगलबार












प्रतिक्रिया