गोर्खा ब्रुअरीमाथी बजार कब्जा गर्न गैरकानुनी सम्झौता गरेको आरोप

बिगमार्ट, भाटभटेनी लगायतका प्रमुख बिक्रि केन्द्रहरुमा गोर्खा बाहेकका अन्य ब्रान्डका बियर बेच्न नपाउने गैरकानुनी सम्झौता



काठमाडौं । नेपाली बियर बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने नाममा गोर्खा ब्रुअरी प्रालिले थोक विक्रेता, सुपरमार्केट, रेस्टुरेन्ट तथा होटलमा अन्य उत्पादकका बियरको बिक्री र प्रवर्द्धन सीमित गर्ने गरी सम्झौता गरिरहेको आरोप लागेको छ । यसले बियर उद्योगमा प्रतिस्पर्धात्मक वातावरण र उपभोक्ताको छनोट अधिकारमाथि प्रश्न उठाएको छ ।

गोर्खा ब्रुअरीले काठमाडौं उपत्यकालगायत विभिन्न सहरका थोक विक्रेतासँग आफ्ना उत्पादन मात्रै बिक्री गर्ने सर्तसहित सम्झौता गरिरहेको छ । त्यस्तै, बिगमार्टलगायतका ठूला खुद्रा बिक्री केन्द्र तथा विभिन्न रेस्टुरेन्ट र होटलसँग पनि आफ्ना ब्रान्डलाई प्राथमिकता दिने र अन्य ब्रान्डलाई स्थान नदिने प्रकृतिका सम्झौता गरिरहेको छ । देशकै ठुलो खुद्रा बिक्रि केन्द्र भाटभटेनी सुपरमार्केटमा समेत गोर्खा ब्रुअरीले सोहि प्रकारको सम्झौता गर्न लागेको स्रोतले जनाएको छ ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले कुनै पनि कम्पनीले खुद्रा तथा थोक विक्रेता वा बिक्री केन्द्रलाई आफ्ना उत्पादन मात्रै बिक्री गर्न बाध्य पार्न नमिल्ने बताउँछन् । “कुनै पनि कम्पनीले बिक्री केन्द्रलाई आफ्नो उत्पादन मात्रै बेच्न र अन्य कम्पनीका उत्पादन नराख्न बाध्य पार्न मिल्दैन । नेपालका उपभोक्ता अधिकारसम्बन्धी विभिन्न कानुनले उपभोक्तालाई कुनै वस्तु किन्न बाध्य पार्न नहुने र छनोटका विकल्प उपलब्ध हुनुपर्ने व्यवस्था गरेका छन्,” तिमल्सिनाले भने ।

उनका अनुसार उपभोक्ताले बजारमा उपलब्ध विभिन्न ब्रान्डमध्ये मूल्य, गुणस्तर र आफ्नो रुचिअनुसार उत्पादन छनोट गर्न पाउनुपर्छ । बिक्री केन्द्रमा एउटै कम्पनीका उत्पादन मात्रै उपलब्ध हुने अवस्था सिर्जना भए उपभोक्ताको छनोटको अवसर सीमित हुने र प्रतिस्पर्धी उत्पादकलाई बजारमा पहुँच विस्तार गर्न कठिन हुने उनले बताए ।

बजारमा आफ्नो उत्पादनको बिक्री बढाउन मूल्य, गुणस्तर, वितरण सञ्जाल र प्रचारप्रसारमा लगानी गर्नु सामान्य व्यावसायिक रणनीति भए पनि बिक्री केन्द्रमा अन्य उत्पादकको पहुँच रोक्ने सर्तले प्रतिस्पर्धामा असर पार्छ । विशेषगरी सुपरमार्केट, होटल तथा रेस्टुरेन्टजस्ता उपभोक्ताले सहजै उत्पादन छनोट गर्ने स्थानमा एउटै कम्पनीका उत्पादनलाई मात्र प्राथमिकता दिने व्यवस्था विस्तार भएमा अन्य ब्रान्डको बिक्री र प्रवर्द्धन प्रभावित हुन्छ भने उपभोक्ताले छनोटको अधिकार गुमाउँछन ।

यस्ता सम्झौताले प्रतिस्पर्धी कम्पनीलाई बजारमा समान अवसरबाट वञ्चित गरेको छ वा छैन भन्ने विषय सम्झौताका वास्तविक सर्त र बजारमा त्यसको प्रभावका आधारमा मूल्याङ्कन गर्नुपर्ने हुन्छ । प्रतिस्पर्धा संरक्षण तथा बजार नियमनसम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमार्फत कुनै पनि कम्पनीले अनुचित रूपमा बजार नियन्त्रण गर्न नपाउने सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिएको छ ।

कानुनविद्हरूका अनुसार बजारमा बलियो हिस्सा ओगटेको कम्पनीले आफ्नो व्यावसायिक प्रभाव प्रयोग गरी प्रतिस्पर्धी उत्पादकको बजार पहुँच सीमित गर्ने गरी सम्झौता गर्नु प्रतिस्पर्धाविरोधी कार्य हो । कानुनविद् विपिन सुवेदीका अनुसार गोर्खा ब्रुअरीको बियर बजारमा ६० प्रतिशतभन्दा बढी हिस्सा छ । प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ मा ४० प्रतिशतभन्दा बढी बजार हिस्सा भएको अवस्थालाई प्रतिस्पर्धात्मक रूपमा महत्त्वपूर्ण मानिने व्यवस्था रहेको उल्लेख गर्दै सुवेदीले अन्य उत्पादकका बियर बिक्रीमा रोक लगाउने प्रकृतिका सम्झौता प्रतिस्पर्धाविरोधी र गैरकानुनी हुने बताउँछन्। यस्ता सम्झौताले अन्य उत्पादकको बजार पहुँच सीमित गर्नुका साथै बजारमा स्वस्थ प्रतिस्पर्धालाई समेत असर पार्न सक्ने उनको भनाइ छ ।

नेपाली बियर उद्योगले उत्पादन, रोजगारी र सरकारी राजस्वमा योगदान गर्दै आएको छ । यस्तो अवस्थामा सबै उत्पादकले निष्पक्ष रूपमा बजारमा प्रतिस्पर्धा गर्न पाउने र उपभोक्ताले विभिन्न ब्रान्डमध्ये आफूले चाहेको उत्पादन छनोट गर्न पाउने वातावरण कायम हुनुपर्ने सरोकारवालाहरूको भनाइ छ ।

प्रकाशित मिति: १२ कार्तिक २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com