मोरङ । पर्यटक भिसाको दुरुपयोग गरी क्रिश्चियन धार्मिक गतिविधिमा संलग्न भएको आरोपमा मोरङबाट १० जना विदेशी नागरिक पक्राउ परेका छन्।
कानेपोखरी गाउँपालिका–७, बरगाछीमा ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थामार्फत स्वास्थ्य शिविर सञ्चालन गरिरहेका ब्राजिल, क्यानडा र अमेरिकाका नागरिकमाथि अनुसन्धान अघि बढाइएको हो।
गृह मन्त्रालयका अनुसार आवश्यक अनुमति नलिई पर्यटक भिसामा स्वास्थ्य शिविर सञ्चालन गरेको पाइएपछि विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णयअनुसार उनीहरूका कागजात जफत गरी अध्यागमन विभाग पठाइएको छ।
कात्तिक ८ गतेदेखि चार दिनसम्म सञ्चालन गर्ने गरी सुरु गरिएको शिविरमा विदेशी चिकित्सकसहित १० जना संलग्न थिए। शिविरको तयारी पास्टर पावेल दङ्गालले गरेका थिए।
स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गरिने भनिएको जग्गामा यसअघि धार्मिक कक्षा सञ्चालन हुँदै आएको थियो। उक्त स्थानमा किराना व्यवसायी नवराज श्रेष्ठले अस्पताल निर्माणका लागि भन्दै तीन कट्ठा जग्गामा छवटा भवन बनाएको र ती भवन धार्मिक गतिविधि तथा अन्य कार्यक्रमका लागि प्रयोग हुँदै आएको समाचारमा उल्लेख छ।
स्थानीय विवाद मत्थर पार्ने उद्देश्यले श्रेष्ठले स्वास्थ्य शिविर आयोजना गरेको जनाइएको छ।
ती विदेशी नागरिक सन् २०२६ अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेका थिए। अध्यागमन विभागका अनुसार उनीहरूको भिसाको म्याद नोभेम्बर ६ देखि २१ सम्म थियो। पर्यटक भिसाको सर्त उल्लङ्घन गरी धर्म प्रचार गरेको आरोपमा प्रहरीले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ। आरोप पुष्टि भइसकेको छैन।
प्रकाशित मिति: १२ कार्तिक २०८३, बुधबार












प्रतिक्रिया