काठमाडौं । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई जनही पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश हरिसिंह धामीको एकल इजलासले बुधबार दुवै पदाधिकारीलाई धरौटीमा छाड्न आदेश दिएको हो। अदालतमा उपस्थित भएर बयान दिएपछि भएको थुनछेक बहसका क्रममा उनीहरूलाई धरौटीमा रिहा गर्ने आदेश जारी भएको हो।
जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले गत असोज २२ गते एन्फाका अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सन्जीव पाण्डेविरुद्ध अभियोगपत्र दायर गरेको थियो। सरकारी वकिलले प्रतिवादीहरूबाट कुल ९३ लाख ९०० रुपैयाँ बिगो तथा क्षतिपूर्ति भराउन माग गरेको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धानपछि चारै जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। उनीहरूमाथि राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने कसुर र मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगीसम्बन्धी कसुरको आरोप लगाइएको छ।
चार प्रतिवादीमध्ये कोषाध्यक्ष रविन्द्र जोशी यसअघि १५ लाख र लेखा अधिकृत सन्जीव पाण्डे १२ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन्। मुद्दा दायर भएपछि अदालतमा उपस्थित नभएका अध्यक्ष नेम्वाङ र महासचिव राई बुधबार बयानका लागि हाजिर भएका थिए।
दशरथ रंगशालाको खेल बहराइन सारिएको आरोप
फिफा विश्वकप २०२६ छनोटअन्तर्गत सन् २०२४ मार्च २१ मा नेपालकै घरेलु मैदान दशरथ रंगशालामा हुनुपर्ने खेल बहराइनमा सारिएको विषय पनि अभियोगमा समेटिएको छ।
अभियोगअनुसार रंगशालाको मैदान संरक्षणमा ध्यान नदिई गैरअन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालन गर्न दिइएको र त्यसका कारण मैदान अन्तर्राष्ट्रिय खेलका लागि अयोग्य बनेको थियो। त्यसपछि बहराइनसँग मिलेमतो गरी नेपालले खेल्नुपर्ने घरेलु खेल उतै आयोजना गर्ने सम्झौता गरिएको दाबी गरिएको छ।
त्यस्तै, उक्त खेलको टिकट बिक्रीबापत बहराइनले एन्फालाई उपलब्ध गराउनुपर्ने २० हजार अमेरिकी डलर (करिब २६ लाख ४७ हजार रुपैयाँ) एन्फाको आधिकारिक बैंक खातामा जम्मा नगरी अपचलन गरिएको आरोप छ। उक्त खेलमा नेपाल बहराइनसँग ५–० र ३–० गोल अन्तरले पराजित भएको थियो।
खेलकुद सामग्री खरिदमा पनि अनियमितताको आरोप
एन्फाको आर्थिक कार्यविधिविपरीत १० लाख रुपैयाँभन्दा माथिको खरिदमा खुला बोलपत्र आह्वान नगरी कोटेसनमार्फत मिलेमतोमा सामान खरिद गरिएको अभियोगमा उल्लेख छ।
एएफसीको ‘एक्स्ट्रा टाइम प्रोजेक्ट’अन्तर्गत ५० हजार अमेरिकी डलर अर्थात् ६६ लाख ५३ हजार ९०० रुपैयाँ बराबरका खेलकुद सामग्री खरिद गर्दा एउटै स्वामित्वमा रहेका तीनवटा कम्पनीबीच प्रतिस्पर्धा भएको देखाइएको आरोप छ।
स्वीकृत लागत अनुमानभन्दा बढी दरमा सामग्री खरिद गरी एन्फालाई आर्थिक हानि पुर्याइएको सरकारी पक्षको दाबी छ।
प्रकाशित मिति: १२ कार्तिक २०८३, बुधबार












प्रतिक्रिया