काठमाडौं । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ। पार्टीले विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना भएको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न पनि आग्रह गरेको छ।
पार्टी अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष बहादुर भवनस्थित आयोगको कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्रमा स्थानीय निर्वाचनलाई दलीय स्वार्थ र राजनीतिक शक्ति प्रदर्शनबाट मुक्त गरी नागरिकको प्रत्यक्ष सेवा, सुशासन र विकासमा केन्द्रित गर्नुपर्ने उल्लेख छ।
स्थानीय तहको नेतृत्व चयन गर्दा दलगत प्रभावभन्दा उम्मेदवारको योग्यता, इमानदारी, कार्यक्षमता, कार्ययोजना र नागरिकप्रतिको जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने पार्टीको धारणा छ।
गैरदलीय स्थानीय निर्वाचनको विषयलाई सार्वजनिक बहसमा मात्र सीमित नराखी नीतिगत निर्णय र कार्यान्वयनको प्रक्रियामा लैजान पनि पार्टीले माग गरेको छ।
प्रकाशित मिति: १२ कार्तिक २०८३, बुधबार












प्रतिक्रिया