काठमाडौं। राजनीतिक वृत्तमा नयाँ समीकरण र समसामयिक विवादहरू पेचिलो बन्दै गएका बेला प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच बुढानीलकण्ठस्थित रवि निवासमा लामो र घनिभूत छलफल भएको छ।

करिब पाँच घण्टाभन्दा बढी चलेको उक्त बैठकमा सरकारले ल्याउन लागेको अध्यादेश, सांसद खगेन्द्र सुनारको विवादित अडियो र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की जोडिएको प्रकरण प्रमुख एजेण्डा बनेका छन्।

स्रोतका अनुसार छलफलको पहिलो प्राथमिकतामा सरकारले जारी गर्न लागेको आगामी अध्यादेश रहेको थियो। अध्यादेशका कानुनी, राजनीतिक तथा व्यावहारिक पक्षबारे दुवै नेताबिच गहन परामर्श भएको छ।

यसै गरी, पछिल्लो समय सामाजिक र राजनीतिक वृत्तमा चर्चामा आएको सांसद खगेन्द्र सुनारको विवादित अडियो प्रकरणलाई गम्भीरताका साथ लिँदै यसमा कस्तो कानुनी वा राजनीतिक कदम चाल्ने भन्ने विषयमा पनि सम्भावित रणनीतिबारे कुराकानी भएको बुझिएको छ।

बैठकमा नेपाल प्रहरीको नेतृत्व अर्थात् आईजीपी दानबहादुर कार्कीसँग जोडिएका विषयले पनि ठूलो समय लिएको थियो। इनम सापकोटासँग आईजीपी कार्कीको सम्बन्ध/कनेक्सनबारे बाहिर आएका समाचार र टिप्पणीहरूप्रति रास्वपा सभापति लामिछानेले आफ्नो स्पष्ट अडान प्रस्तुत गरेका थिए।

लामिछानेले बाहिर आएका विषयहरू पर्याप्त तथ्यमा आधारित नभएको भन्दै बिनाप्रमाण हतारमा निर्णय लिनुभन्दा संयमित भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए। यद्यपि, प्रधानमन्त्री बालेन्द्र शाह भने कार्कीको विषयमा कडा रूपमा प्रस्तुत हुँदै उनको विपक्षमा उभिएको बालुवाटार स्रोतको दाबी छ।

यी तीन मुख्य विषयबाहेक, प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको पूर्वतयारी, कूटनीतिक एजेन्डाहरू तथा सरकारका समग्र नीतिगत र प्रशासनिक निर्णयका विषयमा पनि बैठकमा समीक्षा र ब्रिफिङ भएको थियो।

राजनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिएको र लामो समयसम्म चलेको यो भेटघाटबारे दुवै पक्षका औपचारिक प्रतिनिधि वा नेताहरूले भने आन्तरिक विवरण खोल्न अस्वीकार गरेका छन्। तथापि, पछिल्ला विवादहरू समाधान गर्दै सत्ता गठबन्धन र प्रशासनिक तालमेललाई सुदृढ बनाउन यो बैठकलाई निर्णायक मानिएको छ।

प्रकाशित मिति: १३ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com