काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई बर्खास्त गर्ने मुडमा देखिएका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आज बिहानै देखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छन् ।
बुधबार पार्टी सभापति रवि लामिछानेसँग लामो संवाद गरेका प्रधानमन्त्री बालेन आज बिहीबार बिहानै कार्यालय पुगेका थिए । आजै मन्त्री परिषद् बैठक बसी प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाउने तयारी रहेको प्रधानमन्त्री कार्यालय निकट बिश्वस्त स्रोतले जनाएको छ।
आईजीपी सँगै एआईजी राजन अधिकारी पनि प्रधानमन्त्री शाहको निशानामा परेका छन्। आईजीपी दानबहादुर कार्कीलाई हटाएर दोस्रो बरियतामा रहेका एआईजी राजन अधिकारीलाई कारवाही गर्दा तेस्रो बरियतामा रहेका मनोज केसी स्वत: आईजीपी बन्ने भएकाले सो योजना अनुसार प्रहरी संगठनमा सरकारले आफू निकट एआईजी मनोज केसीलाई आईजीपी बनाउन चलखेल गरेको स्रोतको दाबी छ।
बुधबार प्रधानमन्त्री शाह र पार्टी सभापति लामिछानेबिच लामिछानेको निवास बुढानीलकण्ठमा सरकारका काम कारबाही र पार्टीका गतिविधिबारे लामो छलफल भएको थियो। जसमा प्रहरी आइजीपी दानबहादुर कार्की र खगेन्द्र सुनारमाथि उठेका प्रश्न लगायतका विषयमा गम्भीर छलफल भएको रास्वपा निकट स्रोतले जनाएको छ।
उता, प्रहरी महानिरीक्षक कार्कीले भने आजै दिउँसो उच्च प्रहरी अधिकारीलाई हेडक्वार्टर बोलाएका छन् ।
प्रकाशित मिति: १३ कार्तिक २०८३, बिहिबार












प्रतिक्रिया