काठमाडौं । भारतको राजनीतिक दबाब समूह ‘ककरोच जनता पार्टी’ (सीजेपी) ले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध विपक्षी गठबन्धनले नोभेम्बर १ मा आयोजना गर्न लागेको र्यालीलाई समर्थन गर्ने घोषणा गरेको छ।
सीजेपीले निर्वाचन आयोगले मतदाता नामावलीको ‘विशेष गहन पुनरीक्षण’ (एसआईआर) प्रक्रियामार्फत नागरिकको मतदान अधिकार कमजोर बनाएको आरोप लगाएको छ। उक्त प्रक्रियामा देशभरबाट १३ करोडभन्दा बढी नाम हटाइएको बताइएको छ।
हटाइएका नाममा मृत्यु भएका, बसाइँ सरेका वा एकभन्दा बढी स्थानमा नाम दर्ता भएका व्यक्तिहरू रहेको जनाइएको छ। तर, आलोचकहरूले पुनरीक्षणका क्रममा योग्य मतदाताका नामसमेत हटेको हुन सक्ने आशंका व्यक्त गरेका छन्।
सीजेपी, विद्यार्थी संगठन तथा राहुल गान्धी नेतृत्वको भारतीय राष्ट्रिय कंग्रेससहितका विपक्षी दलले मुख्य निर्वाचन आयुक्त कुमारमाथि अनियमितताको आरोप लगाउँदै एक महिनाभन्दा बढी समयदेखि प्रदर्शन गर्दै आएका छन्।
सीजेपीका संस्थापक अभिजीत दिपकेले सामाजिक सञ्जाल एक्समा विज्ञप्ति जारी गर्दै मुख्य निर्वाचन आयुक्तले स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने नैतिक विश्वास गुमाइसकेको दाबी गरेका छन्। निर्वाचन आयोगको विश्वसनीयता र स्वतन्त्रता पुनःस्थापित गर्न उनको राजीनामा आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ।
संविधानले प्रत्येक वयस्क नागरिकलाई मतदानको अधिकार दिएको उल्लेख गर्दै सीजेपीले कुनै पनि योग्य नागरिक उक्त अधिकारबाट वञ्चित हुन नहुने जनाएको छ। साथै, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि संघर्षरत सबै संगठनलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
दिपकेका अनुसार सीजेपीले विपक्षी दलहरूको ‘इन्डिया’ गठबन्धनले नोभेम्बर १ मा आयोजना गर्ने र्यालीलाई समर्थन गर्नेछ। यसअघि समान माग राखे पनि सीजेपी र कंग्रेसले छुट्टाछुट्टै अभियान सञ्चालन गर्दै आएका थिए।
यसै महिनाको सुरुमा प्रदर्शनका क्रममा सीजेपीका नेताहरूलाई नियन्त्रणमा लिएर गिरफ्तार गरिएको थियो। उनीहरूलाई मध्यदिल्लीमा सामूहिक प्रदर्शन आह्वान नगर्ने सर्तसहित शान्ति मुचुल्कामा हस्ताक्षर गराइएको जनाइएको छ।
यस्तो अवस्थामा विपक्षी गठबन्धनको र्यालीलाई समर्थन गर्ने निर्णयलाई सीजेपीले आफ्नो आन्दोलन अघि बढाउने रणनीतिका रूपमा लिएको बताइएको छ।
प्रकाशित मिति: १३ कार्तिक २०८३, बिहिबार












प्रतिक्रिया