काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। कांग्रेसले अब मुलुकको समग्र समाज रूपान्तरणको नेतृत्व लिनुपर्ने भन्दै उनले त्यसका लागि पार्टीभित्र सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि सम्बोधन गर्दै शर्माले पार्टीको नयाँ नेतृत्वले सबैलाई समेटेर अघि बढ्नुपर्ने बताए। नेतृत्वमा निर्वाचित हुनु नै सबैथोक नभएको उल्लेख गर्दै उनले केन्द्रीय कार्यसमितिमा रहेका र बाहिर रहेका सबैको योगदानलाई समान महत्त्व दिनुपर्ने धारणा राखे।
‘हामी नै लोकप्रिय, योग्य र सक्षम हौँ भन्ने अहङ्कार पाल्नु हुँदैन। हामीभन्दा बाहिर रहेका कैयौँ साथीहरू हामीभन्दा पनि योग्य हुनुहुन्छ,’ उनले भने, ‘केन्द्रीय कार्यसमितिबाहिर रहेका र महाधिवेशनमा सहभागी भएका सबै साथीहरू हाम्रै टिममा हुनुहुन्छ र उहाँहरूको पनि पार्टी निर्माणमा उत्तिकै जिम्मेवारी छ।’
शपथ ग्रहणका क्रममा पार्टीमा नयाँ ऊर्जा र तरुणको प्रतिनिधित्व देखिएको अनुभूति भएको उनले बताए। केन्द्रीय समितिमा पेसा–व्यवसाय, द्वन्द्वपीडित, प्रजातन्त्र सेनानी र युवाहरूको प्रतिनिधित्व हुनुले पार्टीलाई जीवन्त बनाएको उनको भनाइ थियो।
अघिल्लो महाधिवेशनको तुलनामा यसपटकको महाधिवेशन सम्पन्न गर्न निकै चुनौती सामना गर्नुपरेको स्मरण गर्दै शर्माले कांग्रेसको गौरवशाली इतिहासबाट प्रेरणा लिएर भविष्यलाई अझ उज्ज्वल बनाउनुपर्ने बताए।
‘कांग्रेसको सुरुवात हुँदा हामीमध्ये धेरै जन्मिएकै थिएनौँ। इतिहास जति गर्विलो थियो, त्यत्तिकै भविष्यलाई पनि उज्ज्वल बनाउनुपर्नेछ,’ उनले भने।
पार्टीको आगामी कार्यदिशा संस्थागत हुनुपर्नेमा जोड दिँदै शर्माले अबको राजनीतिक यात्रा संस्थागत र स्वाभिमानी बन्नुपर्ने बताए। आफूहरूले पार्टी सभापतिले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने र त्यसको प्रतिवेदन केन्द्रमा बुझाउने उनको भनाइ थियो।
नेतृत्वमाथि उठ्ने आलोचना र प्रश्नलाई सकारात्मक रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले त्यसले पार्टीलाई थप परिपक्व बनाउने बताए।
‘हामीमाथि उब्जिने प्रश्नहरूलाई सकारात्मक प्रक्रियाबाट लिएर काम गर्नुपर्छ, यसले हामीलाई थप परिपक्व बनाउँछ,’ उनले भने।
कांग्रेसले मुलुकको समग्र समाज रूपान्तरणको नेतृत्व गर्नुपर्ने बताउँदै शर्माले पार्टीको राजनीतिक यात्रामा राष्ट्रहितलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
‘हामीले जहिले पनि कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ र सोहीअनुसार अघि बढ्नुपर्छ,’ उनले भने।
प्रकाशित मिति: १३ कार्तिक २०८३, बिहिबार











प्रतिक्रिया