काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटासँग आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै त्यसलाई असत्य र आधारहीन बताएका छन्।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै शर्माले समाचारमा उल्लेख गरिएका व्यक्ति तथा आर्थिक कारोबारसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका हुन्। उनले समाचारले सर्वसाधारणमा भ्रम फैलाएको भन्दै कडा भर्त्सनासमेत गरेका छन्।

नेपाल प्रहरीले हिरासतमा राखेका सापकोटाको मोबाइल विवरण उद्धृत गर्दै ‘दियो पोस्ट’ले प्रधानन्यायाधीश शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्व पोखरेलको नाम जोडेर आर्थिक कारोबारसम्बन्धी समाचार प्रकाशित गरेको थियो।

उक्त समाचारमा सापकोटाको मोबाइलमा नोभेम्बर, डिसेम्बर र जनवरी महिनामा कुल एक लाख ७४ हजार रुपैयाँ बराबरको संदिग्ध कारोबार विवरण भेटिएको र त्यससँग जोडिएका नाममा शर्मासहित अन्य व्यक्तिको नाम उल्लेख रहेको दाबी गरिएको थियो।

प्रधानन्यायाधीश शर्माले समाचारमा नाम जोडिएका व्यक्तिहरूसँग आफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष चिनजान, सम्पर्क वा भेटघाट नभएको बताएका छन्। समाचारमा उल्लेख गरिएका महिनामा आफू प्रधानन्यायाधीशको पदमा नियुक्त भइनसकेको तथ्यसमेत उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

न्यायालय र नेतृत्वको निष्ठामाथि आँच पुर्‍याउने तथा जनमानसमा भ्रम सिर्जना गर्ने उद्देश्यले समाचार प्रकाशित गरिएको शर्माको आरोप छ।

प्रकाशित मिति: १३ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com