काठमाडौं । भुटानको उत्तरी क्षेत्रमा रहेको शिंताफू हिमतालबाट एक्कासि ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले मुख्य सडक बगाएको छ । बाढीका कारण दुर्गम लाया क्षेत्र भुटानका अन्य भूभागसँगको सडक सम्पर्कबाट विच्छेद भएको छ ।
गासा जिल्लास्थित हिमतालबाट निस्किएको बाढी राति करिब ८ः१५ बजे ताक्तसेमाखाङ पुगेको थियो । बाढीले लाया जोखांग सडकको एक खण्डमा क्षति पुर्याएपछि उक्त सडकमा सबै प्रकारका सवारी आवागमन बन्द गरिएको छ ।
भुटानी अधिकारीहरूले जोखिमयुक्त क्षेत्रमा खटिएका सुरक्षाकर्मी तथा अन्य व्यक्तिलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । सम्भावित जोखिमलाई ध्यानमा राख्दै आसपासका क्षेत्रलाई समेत सतर्क गराइएको छ । घटनामा हालसम्म मानवीय क्षति भएको विवरण सार्वजनिक भएको छैन ।
रातिको समयमा घटना भएकाले हिमतालबाट बाहिरिएको पानीको मात्रा र बाढीले पुर्याएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । प्रारम्भिक आकलनले भने बाढीको प्रभाव गम्भीर हुन सक्ने देखाएको छ ।
यस घटनापछि भारतको पश्चिम बंगालमा समेत सतर्कता बढाइएको छ । वनमन्त्री मनोज कुमार ओरांवले संकोश नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेका छन् । उनले जोखिममा रहेका नागरिकसँग सम्पर्क गर्न र आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउन प्रशासनलाई निर्देशन दिएका छन् ।
प्रकाशित मिति: १४ कार्तिक २०८३, शुक्रबार












प्रतिक्रिया