काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस युरोपसँग युद्धको पक्षमा नरहेको तर आवश्यक परे सैन्य भिडन्तका लागि तयार रहेको बताएका छन्।
नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरे र फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टबसँग फोनवार्ता भएपछि पुटिनले युरोपका केही देश सन् २०३० सम्ममा रुससँग सम्भावित द्वन्द्वको तयारी गरिरहेको दाबी गरेका हुन्।
उनले रुस पनि युद्धका लागि तयार रहेको बताउँदै युरोपेली सङ्घ तथा युरोपका विभिन्न देशसँग सम्बन्ध सुधार गर्न आफूहरू इच्छुक रहेको स्पष्ट पारे। रुस र युरोपबीच प्रत्यक्ष युद्ध भए कुनै पनि पक्ष विजयी नहुने र त्यसको परिणाम विनाशकारी हुने चेतावनीसमेत उनले दिएका छन्।
मस्कोमा आयोजित रुस–अफ्रिका शिखर सम्मेलनपछि पत्रकारहरूसँग कुरा गर्दै पुटिनले बाल्टिक सागरमा समुद्री आवागमन र रुसी जहाजमाथि लगाइएका प्रतिबन्धप्रति पनि आपत्ति जनाए। अन्तर्राष्ट्रिय समुद्री कानुनको पालना नभए बाल्टिक सागरमा पनि फारसको खाडी वा होर्मुज जलडमरूमध्यको जस्तै अवस्था सिर्जना हुन सक्ने उनको चेतावनी छ।
युक्रेन युद्धपछि रुसले सन् २०३० देखि २०३५ बीच आफ्नो सैन्य संरचना पुनर्गठन गरी युरोपेली सीमामा चुनौती दिन सक्ने आकलन विभिन्न युरोपेली सुरक्षा निकायले गरेका छन्। यही आशङ्कालाई ध्यानमा राख्दै युरोपेली सङ्घ र नेटोले सन् २०३० सम्मको रक्षा तयारी योजनाअन्तर्गत सैन्य खर्च बढाइरहेका छन्।
युक्रेन युद्धका कारण रुस र युरोपेली देशबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ। युरोपेली देशहरूले युक्रेनलाई सैन्य सहयोग उपलब्ध गराउँदै आएका छन् भने रुसले त्यसको विरोध गर्दै आएको छ।
पश्चिमी देशहरूले युक्रेनलाई हतियार उपलब्ध नगराएको भए युद्ध पहिले नै अन्त्य भइसक्ने रुसको दाबी छ। यता युरोपेली देशहरूले भने रुसको सैन्य आक्रमण रोक्न युक्रेनलाई सहयोग गर्नु आवश्यक रहेको बताउँदै आएका छन्।
प्रकाशित मिति: १४ कार्तिक २०८३, शुक्रबार












प्रतिक्रिया