रौतहट । रौतहटमा ट्र्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा प्रहरी जवानको मृत्यु भएको छ। दुर्घटनामा उनकी श्रीमती गम्भीर घाइते भएकी छन्।
जिल्लाको फतुवा विजयपुर नगरपालिका–११ स्थित राङ्गी टोलमा दुधिअवा–बालचनपुर सडकखण्डमा बिहीबार साँझ करिब ६ः३० बजे दुर्घटना भएको हो।
प्रहरीका अनुसार दुधिअवाबाट बालचनपुरतर्फ जाँदै गरेको ना.२ त ४७८६ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक गुजरा नगरपालिका–४ पोखरभिण्डाका ३५ वर्षीय प्रहरी जवान सुभाष चौधरी गम्भीर घाइते भएका थिए। बाराको इलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत चौधरीलाई उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेकाे हाे।
मोटरसाइकलको पछाडि सवार उनकी ३० वर्षीया श्रीमती निशा खड्का पनि गम्भीर घाइते भएकी छन्।
दुर्घटनापछि ट्र्याक्टर चालक फरार रहेकाले उनको खोजी भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए।
प्रकाशित मिति: १४ कार्तिक २०८३, शुक्रबार












प्रतिक्रिया