काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रतिवादी रहेको पतञ्जली जग्गा अनियमितता प्रकरणको अन्तिम सुनुवाइ सरेको छ । विशेष कामले विदेश जानुपर्ने कारण देखाउँदै नेपालले सुनुवाइको मिति सार्न माग गरेपछि विशेष अदालतले आगामी कात्तिक १९ गतेका लागि नयाँ पेसी तोकेको हो ।
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक नेपालले शुक्रबार अदालतमा निवेदन दिएका थिए । उनको निवेदनमाथि सुनुवाइ गर्दै विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले पेसी सार्ने अनुमति दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ २२ गते पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टामा भ्रष्टाचार भएको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारका अनुसार हदबन्दीभन्दा बढी रहेको ३१४ रोपनी १५ आना दुई पैसा एक दाम जग्गा बिक्री गर्दा अनियमितता भएको थियो । उक्त प्रकरणमा नेपालविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।
प्रकाशित मिति: १३ कार्तिक २०८३, शुक्रबार












प्रतिक्रिया