काठमाडौं । अमेरिकाले रुसको खतराबारे सार्वजनिक अभिव्यक्ति दिँदा संयम अपनाउन नेटोका केही युरोपेली सदस्य राष्ट्रलाई आग्रह गरेको छ। पेन्टागनका अधिकारीहरूले लिथुआनिया, लातभिया र इस्टोनियासहितका देशलाई रुसविरुद्ध उत्तेजक बयानबाजी नगर्न सुझाव दिएका हुन्।
रोयटर्सका अनुसार यस विषयमा जानकार चार व्यक्तिले अमेरिकी अधिकारीहरूको सन्देश युरोपेली नेताहरूका केही अभिव्यक्ति महादेशको सुरक्षाका लागि उपयुक्त नभएको बताएका छन्।
विभिन्न द्विपक्षीय बैठकमार्फत अमेरिकी धारणा युरोपेली अधिकारीहरूसमक्ष पुर्याइएको हो। पेन्टागनका नीति प्रमुख एल्ब्रिज कोल्बी पनि यस्तो सन्देश दिने अधिकारीमध्ये एक रहेको समाचारमा उल्लेख छ। उनी युरोपमा अमेरिकी सैनिक उपस्थितिको समीक्षासँग सम्बन्धित महत्त्वपूर्ण अधिकारी हुन्।
कोल्बीले हालै बाल्टिक क्षेत्रका एक अधिकारीलाई रुसलाई उक्साउने खालका अभिव्यक्ति नदिन आग्रह गरेका थिए। उनले युक्रेन युद्धका क्रममा रुस घेराबन्दीमा परेको र निराश भएर कदम चालिरहेको भन्ने युरोपेली नेताहरूका अभिव्यक्तिलाई उदाहरणका रूपमा प्रस्तुत गरेका थिए।
इस्टोनियाका प्रधानमन्त्री क्रिस्टन मिहालले सेप्टेम्बरको अन्त्यमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘कुनामा थुनिएको मुसा’सँग तुलना गरेका थिए।
एक युरोपेली अधिकारीका अनुसार अमेरिकी सन्देशको आशय अमेरिकाले युरोपलाई सहयोग गरिरहेको भए पनि सहयोगी राष्ट्रहरूले रुसविरुद्ध अनावश्यक सार्वजनिक बयानबाजी गर्न नहुने भन्ने थियो। पेन्टागनले इस्टोनियाको प्रतिनिधिमण्डललाई पनि सार्वजनिक अभिव्यक्तिमा सन्तुलन कायम राख्न आग्रह गरेको थियो।
युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी प्रयास
अमेरिकाको यस्तो आग्रह राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले युक्रेन युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास गरिरहेका बेला आएको हो। यस क्रममा रुसमाथिका प्रतिबन्धमा केही छुट दिने प्रस्तावमाथि विचार भइरहेको र युक्रेनलाई रुसी ऊर्जा केन्द्रमा आक्रमण रोक्न दबाब दिइएको समाचारमा उल्लेख छ।
नेटोभित्र रुसको खतरालाई सार्वजनिक रूपमा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा मतभेद देखिएको छ। केही अधिकारीहरूको बुझाइमा रुसबारे निरन्तर चेतावनी दिँदा मस्कोलाई डरको वातावरण सिर्जना गर्ने अवसर मिल्न सक्छ।
तर अर्को पक्षले युरोपेली नागरिकलाई सम्भावित सुरक्षाका चुनौतीबारे जानकारी गराउनु आवश्यक रहेको तर्क गर्दै आएको छ। यसबाट रक्षा क्षेत्रमा आवश्यक खर्च र तयारीको महत्त्व बुझाउन सकिने उनीहरूको भनाइ छ।
यसैबीच, युरोपमा शङ्कास्पद तोडफोडका घटनालाई लिएर पनि चिन्ता बढेको छ। जर्मनीमा दुई बेलारुसी नागरिकलाई महत्त्वपूर्ण स्थलमा आगजनी गर्ने कथित षड्यन्त्रको आरोपमा पक्राउ गरिएको छ।
जर्मनीले गत सेप्टेम्बरमा लाइपजिग–हाले विमानस्थलमा भएको ड्रोन आक्रमणको प्रयासमा रुस जिम्मेवार रहेको आरोप लगाएको थियो। तर मस्कोले उक्त आरोप अस्वीकार गर्दै आएको छ।
प्रकाशित मिति: १४ कार्तिक २०८३, शुक्रबार












प्रतिक्रिया