काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चारमाध्यमका समाचार कक्षमै पुगेर पत्रकारलाई नियन्त्रणमा लिने प्रहरी गतिविधिप्रति कडा आपत्ति जनाउँदै तत्काल रोक्न सरकारसँग माग गरेको छ। महासंघले यस्तो कार्यलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र राज्य आतंकको संज्ञा दिएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले शुक्रबार प्रतिक्रिया दिँदै एकाएक समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिन थालिएको भन्दै यसले गम्भीर चिन्ता पैदा गरेको बताए।

उनका अनुसार सञ्चारगृहमा बर्दीधारी प्रहरी प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिनु नेपालको संविधान, प्रेस स्वतन्त्रता र अन्तर्राष्ट्रिय कानुनी मान्यताविपरीत छ।

‘अकस्मात् राज्य आतंक सुरु भएको देखिएको छ। समाचार कक्षमै प्रहरी पुगेर पत्रकारलाई उठाउने कार्य संविधान, प्रेस स्वतन्त्रता र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो,’ दाहालले भने, ‘यस्तो गतिविधि तत्काल बन्द हुनुपर्छ। राज्य आतंक नरोकिए त्यसविरुद्ध आन्दोलनमा उत्रिनुको विकल्प रहँदैन।’

शुक्रबार नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई नयाँ बानेश्वरस्थित कार्यालयको समाचार कक्षबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।

त्यस्तै, मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई पनि बिजुलीबजारस्थित कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैबीच, नयाँ पत्रिका दैनिकको कार्यालयमा समेत प्रहरी पुगेको छ। अपराध अनुसन्धान कार्यालय टेकुबाट आएको भन्दै सादा पोशाकमा पाँच जना प्रहरी कार्यालय पुगेका थिए। उनीहरूले संवाददाता नवराज मैनालीलाई साइबर ब्युरोमा लैजानुपर्ने बताएको नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तले जानकारी दिएका छन्।

एकै दिन विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई नियन्त्रणमा लिने र अन्य पत्रकारको खोजी गर्दै कार्यालय पुग्ने प्रहरी गतिविधिले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ।

प्रकाशित मिति: १४ कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com