काठमाडौं । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) मा अनियमितता गरी संस्थानलाई १२ करोड रुपैयाँभन्दा बढी आर्थिक हानि पुर्‍याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार संस्थानका तत्कालीन महाप्रबन्धक, उच्च तहका कर्मचारी, चिस्यान केन्द्रका प्रमुख तथा अन्य कर्मचारीको मिलेमतोमा गैरकानुनी आर्थिक लाभ लिने गतिविधि भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सीआईबीका सहप्रवक्ता तथा सूचना अधिकारी योगेन्द्रकुमार खड्काले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार उनीहरूले पूर्वयोजनाअनुसार विभिन्न समूह खडा गरी सङ्गठित सञ्जालमार्फत संस्थानलाई प्रत्यक्ष आर्थिक हानि पुर्‍याएको प्रारम्भिक रूपमा पुष्टि भएको छ। उक्त गतिविधिबाट रु. १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ गैरकानुनी लाभ लिएको आरोप छ।

पक्राउ पर्नेमा डीडीसीका तत्कालीन महाप्रबन्धक तथा हाल प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका रूपमा कार्यरत सञ्जिव झा रहेका छन्। त्यसैगरी तत्कालीन चिस्यान केन्द्रका इन्चार्ज तथा हाल विभिन्न पदमा कार्यरत विजयकुमार यादव, मनहरी शर्मा र रामकेवल राय पनि पक्राउ परेका छन्।

यसैगरी डीडीसीका कर्मचारी जितेन्द्रकुमार यादव, नवीन राय यादव, शिवनन्दन राय र विखबहादुर भण्डारीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

सीआईबीले उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको ‘आपराधिक विश्वासघात गर्न नहुने कसुर’ तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।

काठमाडौँ जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिएर उनीहरूलाई २०८३ कात्तिक १३ गते विभिन्न स्थानबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।

प्रकाशित मिति: १४ कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com