काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाबारे प्रधानमन्त्री कार्यालयले अनभिज्ञता जनाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।

सामाजिक सञ्जालमार्फत उनले असन्तुष्टि व्यक्त गरेकी हुन्। प्रधानमन्त्री कार्यालयले घटनाबारे आफू अनभिज्ञ रहेको बताएको उल्लेख गर्दै ओलीले प्रहरीलाई सञ्चारगृहमा प्रवेश गरी पत्रकार पक्राउ गर्न निर्देशन कसले दिएको हो भन्दै प्रश्न गरिन्।

‘प्रधानमन्त्री कार्यालयले घटनाबारे आफू अनभिज्ञ रहेको बताएको छ। यो त झन् गम्भीर कुरा भयो! त्यसो भए सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गर्ने निर्देशन कसले दियो? राज्यको सुरक्षा संयन्त्र कसको आदेशमा चलिरहेको छ?’ उनले प्रश्न गरेकी छन्।

पत्रकार पक्राउ गर्ने आदेश दिने निकाय जिम्मेवार नहुने र प्रधानमन्त्री कार्यालय अनभिज्ञ रहने अवस्थाप्रति असन्तुष्टि जनाउँदै ओलीले घटनाको जिम्मेवारी कसले लिने र कसलाई जवाफदेही बनाउने भन्ने प्रश्न गरिन्।

‘पत्रकार पक्राउ गर्ने आदेश दिने निकाय जिम्मेवार नहुने, प्रधानमन्त्री कार्यालय अनभिज्ञ हुने, अनि अन्त्यमा सबै कुरा सामान्य मान्ने?’ उनले प्रश्न गरेकी छन्, ‘आखिर यो घटनाको जिम्मेवारी कसले लिने? कसलाई जवाफदेही बनाउने? कि राज्यमा आदेश दिने त छन्, तर जिम्मेवारी लिने कोही छैन?’

विधिको शासनमा आदेश दिने व्यक्ति पनि जवाफदेही हुनुपर्नेमा जोड दिइन्। पक्राउ परेका पत्रकारहरू छुटिसकेको जानकारी दिँदै ओलीले घटनाको जिम्मेवारी सम्बन्धित व्यक्तिले लिनुपर्ने भनाइ राखिन्।

उनले भनिन्, ‘विधिको शासनमा आदेश मात्र होइन, आदेश दिने व्यक्ति पनि जवाफदेही हुनुपर्छ।’

प्रकाशित मिति: १५ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com