काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको गेमिङ तथा सूचना प्रविधि (आईटी) क्षेत्रलाई उद्योगका रूपमा स्थापित गर्न सरकारले नीतिगत सुधार र आवश्यक तयारी अघि बढाएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नेपाली युवाले विकास गरेका गेमिङ एपले अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता हासिल गरिरहेको उल्लेख गरेका छन्। यस क्षेत्रको थप विकास, विस्तार र प्रवर्द्धनका लागि विद्यमान समस्या समाधान गर्न सरकार सक्रिय भएको उनको भनाइ छ।

उनका अनुसार विश्वभर लोकप्रिय रहेका ‘लुडो’ र ‘कलब्रेक’ जस्ता गेम नेपालीले नै विकास गरेका हुन्। लुडो करिब २० करोड पटक र कलब्रेक १५ करोडभन्दा बढी पटक डाउनलोड हुनु नेपाली प्रविधि क्षेत्रको सम्भावना र क्षमताको उदाहरण भएको उनले बताएका छन्। अहिले पनि नेपालमा सयौँ युवा गेम विकासको क्षेत्रमा क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले गेमिङ डेभलपरहरूसँग छलफल गरी उनीहरूले भोगिरहेका समस्या र चुनौतीबारे जानकारी लिएको बताए।

नेपालबाटै विश्वस्तरका ठूला प्रविधि कम्पनी अर्थात् ‘ग्लोबल युनिकर्न’ स्थापना गर्न सकिने वातावरण निर्माण सरकारको प्राथमिकतामा रहेको उनले बताएका छन्। त्यसका लागि आईटी उत्पादन तथा सेवा निर्यात गर्ने कम्पनीलाई आम्दानी गर्न र प्राप्त रकम पुनः लगानी गर्न सहज हुने गरी कर प्रणालीमा सुधार गरिने उनको भनाइ छ।

त्यस्तै, अन्तर्राष्ट्रिय कारोबार र आम्दानीसँग सम्बन्धित परम्परागत तथा झन्झटिला नियमलाई समयानुकूल परिमार्जन गरी थप सहज बनाउने तयारी भइरहेको उनले जानकारी दिएका छन्।

गेमिङ तथा समग्र आईटी क्षेत्रको विकासका लागि ‘गेम ज्याम’, स्टार्टअपसम्बन्धी कार्यक्रम र ‘ह्याकाथन’ जस्ता नवप्रवर्तनमुखी गतिविधिमा सरकारले लगानी गर्ने योजना पनि अघि सारिएको छ। यसका साथै आईटी क्षेत्रका सरोकारवाला, नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच नियमित छलफल तथा समन्वयको व्यवस्था मिलाइने उनले बताएका छन्।

नेपालको आईटी तथा गेमिङ क्षेत्र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावनायुक्त अवस्थामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले नेपाली प्रतिभा र उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सरकारले आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति: १४ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com