काठमाडौं। नेपालले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको सूचीमा थप छ हिमाललाई छुट्टै शिखरका रूपमा समावेश गराउन अन्तर्राष्ट्रिय पहल सुरु गरेको छ।
विश्व पर्वतारोहण तथा आरोहण महासंघको सन् २०२६ को साधारणसभामा नेपाल पर्वतारोहण संघमार्फत सरकारले उक्त प्रस्ताव अघि बढाएको हो।
प्रस्तावित छ हिमालले अन्तर्राष्ट्रिय मान्यता पाएमा विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको सङ्ख्या हालको १४ बाट बढेर २० पुग्नेछ। तीमध्ये १४ वटा हिमाल नेपालमा पर्नेछन्।
नेपालले छुट्टै हिमालका रूपमा मान्यता दिलाउन प्रस्ताव गरेका शिखरहरूमा यालुङ काङ (८,५०५ मिटर), कञ्चनजङ्घा दक्षिण (८,४७६ मिटर), कञ्चनजङ्घा मध्य (८,४७३ मिटर), ल्होत्से मध्य (८,४१० मिटर), ल्होत्से शार (८,४०० मिटर) र यालुङ काङ पश्चिम (८,०७७ मिटर) रहेका छन्।
काठमाडौंमा शुक्रबारदेखि सुरु भएको महासंघको साधारणसभामा विभिन्न देशका पर्वतारोहण महासंघका प्रतिनिधि, विज्ञ तथा सरोकारवालाहरू सहभागी छन्।
प्रस्तावित हिमालले अन्तर्राष्ट्रिय मान्यता पाएमा नेपालको पर्वतारोहण पहिचान विस्तार हुनुका साथै नयाँ आरोहण गन्तव्य विकास र साहसिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपालले यसअघि सन् १९८२ र २०११ मा पनि विश्व पर्वतारोहण तथा आरोहण महासंघको साधारणसभा आयोजना गरेको थियो। यसपटकको आयोजना तेस्रो हो।
प्रकाशित मिति: १४ कार्तिक २०८३, शनिबार












प्रतिक्रिया