काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने र सञ्चारमाध्यममा प्रहरी परिचालन गरी त्रास सिर्जना गर्ने सरकारी गतिविधिप्रति कडा आपत्ति जनाएका छन्। उनले यस्ता कार्य लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र विधिको शासनविरुद्धको कदम भएको टिप्पणी गरेका छन्।
शनिबार प्रेस वक्तव्य जारी गर्दै आङदेम्बेले सञ्चारगृहको प्रवेशद्वारमा प्रहरीका गाडी राख्ने, समाचार कक्षमै प्रहरी प्रवेश गराउने तथा पत्रकारलाई पक्राउ गरेर समाचार लेख्न निरुत्साहित गर्ने कार्य कुनै पनि लोकतान्त्रिक सरकारलाई सुहाउने व्यवहार नभएको बताएका हुन्। उनका अनुसार यो राज्यशक्तिको दुरुपयोग मात्र नभई प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमण हो।
उनले पछिल्लो समय अदालतमा बिचौलियामार्फत सेटिङ भएको भनिएको प्रकरणमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, न्यायाधीश तथा सत्तारूढ दलका सांसदको नाम जोडिएर समाचार सार्वजनिक भइरहेको र उच्च सरकारी अधिकारीलाई सेवाबाट हटाउने तयारीका विषय पनि बाहिर आएको उल्लेख गरेका छन्।
त्यस्तै, कार्यस्थलमै रहेका कर्मचारीलाई प्रधानमन्त्री कार्यालयमा राखेर उनीहरूको नियमित काममा हस्तक्षेप गरिएको तथा यस्ता विषय सार्वजनिक गर्ने पत्रकारमाथि पक्राउ पुर्जीबिनै धरपकड गरिएको उनको आरोप छ। केही पत्रकारलाई साइबर ब्युरोमा समेत बोलाइएको घटनाले देशमा स्वतन्त्र रूपमा समाचार लेख्ने वातावरण कमजोर बन्दै गएको उनले बताएका छन्।
वक्तव्यमा प्रधानमन्त्रीको सचिवालय र गृह प्रशासनले घटनाबारे अनभिज्ञता देखाउने तथा प्रहरी प्रवक्ताले समेत बुझ्दै गरेको प्रतिक्रिया दिने गरेको उल्लेख गर्दै आङदेम्बेले पक्राउ परेका पत्रकारले भने प्रधानमन्त्री कार्यालयकै दबाबमा आफूहरूलाई पक्राउ गरिएको प्रहरी अधिकारीले बताएको दाबी गरेको जनाएका छन्।
उनले प्रधानमन्त्रीदेखि सरकारका सबै निकायसम्मका काम कानुनको दायराभित्र हुनुपर्नेमा जोड दिएका छन्। अनियमितताका विषयमा छानबिन गर्ने जिम्मेवारी पाएका संवैधानिक तथा कानुनी निकायलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने भन्दै उनले राज्यका निकायमाथि अनधिकृत हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
कानुनी प्रक्रियाविपरीत हुने धरपकड र हस्तक्षेपले लोकतान्त्रिक व्यवस्था तथा विधिको शासनलाई कमजोर बनाउने उनको भनाइ छ। दशकौँको राजनीतिक संघर्षबाट प्राप्त वाक् तथा प्रकाशन स्वतन्त्रता र कानुनी राज्यको सर्वोच्चतामाथि नै सरकारको यस्तो व्यवहारले प्रहार गरेको उनले बताएका छन्।
पत्रकारलाई पक्राउ गर्दैमा समाचारको सत्य दबाउन नसकिने र प्रेसलाई कुनै पनि निरंकुशताका अगाडि झुकाउन नसकिने उल्लेख गर्दै आङदेम्बेले सरकारलाई संविधानप्रदत्त अधिकारको सम्मान गर्न र राज्यका सबै निकायलाई आफ्नो जिम्मेवारी कानुनसम्मत ढंगले निर्वाह गर्न आग्रह गरेका छन्।
प्रकाशित मिति: १४ कार्तिक २०८३, शनिबार












प्रतिक्रिया