नवलपरासी । नेटा-भी विद्युतीय गाडी खरिदपछि उत्पन्न समस्या समाधान भइसकेको अवस्थामा आफूलाई पीडितका रूपमा चित्रण गर्दै समाचार प्रकाशित गरिएको भन्दै पश्चिम नवलपरासीका नेत्रलाल न्यौपानेले आपत्ति जनाएका छन् ।

एक अनलाइन मिडियामा कात्तिक १२ गते ‘सीजी मोटर्सको लापरबाही र दादागिरीमाथि उपभोक्ताको जित’ शीर्षकमा प्रकाशित समाचारप्रति असन्तुष्टि व्यक्त गर्दै न्यौपानेले समाचारमा आफ्नो भनाइ समावेश नगरिएको र नौ महिनाअघि नै समाधान भइसकेको विषयलाई एकपक्षीय ढंगले प्रस्तुत गरिएको बताएका हुन् । त्यस्तै प्राकृतिका समाचार अन्य विभिन्न संचारमाध्यममा समेत आएको भन्दै आफू आश्चर्यमा परेको बताए । न्यौपानेले गाडी खरिदपछि सर्भिसिङका क्रममा ब्याट्रीमा केही समस्या देखिएको भए पनि चौधरी ग्रुपका सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क भएपछि विषय सम्मानजनक रूपमा समाधान भएको स्पष्ट पारे ।

‘मैले आज मात्रै उक्त समाचार पढेँ । समाचार पढेर आश्चर्यचकित भएँ । मेरो विषयमा समाचार प्रकाशित गर्दा मसँग पनि सोध्नुपर्ने होइन र ? समाचारमा मलाई पीडितका रूपमा प्रस्तुत गरिएको छ, जबकि यो समस्या नौ महिनाअघि नै समाधान भइसकेको हो,’ न्यौपानेले भने ।

उनका अनुसार सर्भिसिङका क्रममा हाई वाटर प्रेसरका कारण गाडीको ब्याट्रीमा समस्या देखिएपछि केही समय छलफल भएको थियो । तर, चौधरी ग्रुपको उच्च व्यवस्थापन तहमा रहेका आफ्ना मित्रहरूलाई यसबारे जानकारी गराएपछि उनीहरूले आफ्नो इच्छाअनुसार बजार मूल्यभन्दा बढी रकममा उक्त गाडी खरिद गरिदिएको उनले बताए ।

‘चौधरी ग्रुपले मलाई कुनै व्यावसायिक सीमाभित्र मात्रै रहेर व्यवहार गरेको होइन । मेरो चाहनाअनुसार सम्मानजनक ढंगले समस्या समाधान गरिदिएको छ । यसबाट म अत्यन्तै प्रसन्न छु । त्यसका लागि उहाँहरूलाई धन्यवाद दिनैपर्छ,’ न्यौपानेले भने ।

समाधान भइसकेको विषयलाई पुनः विवादका रूपमा प्रस्तुत गर्दा आफू र चौधरी ग्रुपबीचको सम्बन्धमा समेत अनावश्यक दरार पैदा हुन सक्ने उनको भनाइ छ ।

न्यौपानेले समाचारमा समस्या देखिएको पक्षलाई मात्र प्राथमिकता दिइएको तर समाधानका क्रममा भएका प्रयास र अन्तिम परिणामबारे कुनै जानकारी नसमेटिएको भन्दै उक्त अनलाइन मिडियाको समाचार सम्प्रेषण शैलीमाथि प्रश्न उठाएका छन् ।

‘म एक व्यावसायिक व्यक्ति हुँ । मलाई न्याय दिने उद्देश्यले समाचार लेखिएको हो भने मैले उहिल्यै न्याय पाइसकेको छु । वास्तविकता के हो भनेर मलाई सोध्दै नसोधी मेरो नाम किन मिडियामा ल्याइयो ? समस्याको विषय मात्रै किन लेखियो, समाधान भएको विषय किन लेखिएन ?’ उनले प्रश्न गरे ।

राष्ट्रियस्तरमा पहिचान बनाएको सञ्चारमाध्यमबाट आफ्नो भनाइ नै नलिई समाचार प्रकाशित हुनु दुःखद भएको उल्लेख गर्दै उनले सञ्चारमाध्यमका वरिष्ठ सम्पादकहरूले यस विषयमा समीक्षा गर्ने विश्वास व्यक्त गरे ।

‘हामीजस्ता नागरिकलाई किन अचानो बनाइन्छ भन्ने विषयले मलाई गम्भीर बनाएको छ । सञ्चारमाध्यमप्रति नागरिकको ठूलो विश्वास हुन्छ । कृपया तथ्यको पूर्णता र सम्बन्धित पक्षको भनाइलाई बेवास्ता गरेर समाचार सम्प्रेषण नगरिदिनुहोला,’ उनले आग्रह गरे ।

न्यौपानेले आफूले चौधरी ग्रुपप्रति कुनै असन्तुष्टि नराखेको र गाडीसम्बन्धी विषय आपसी समझदारी तथा सम्मानजनक व्यवहारबाट समाधान भइसकेको जनाएका छन् ।

प्रकाशित मिति: १५ कार्तिक २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com